
पूर्णपुष्टि, चैत १८ ।
“नेपाली ढाका कपडाको उत्पादन, नेपालीको पहिचान” भन्ने नाराका साथ उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १३ को पहलबाट ढाका कपडाको सारी बनाउने तालिम सञ्चालन भएको छ । तालिमको उद्घाटन एक समारोहकाबीच आज वडा कार्यालयमा भयो ।
तालिमको उद्घाटन प्रदेश सांसद सुनिता चौधरीले गरिन् । संविधासभा सदस्य एवम् नेकपा एसकी केन्द्रिय सदस्य दुर्गा परियार लगायत विभिन्न नेता, नागरिक समाज, पत्रकार र वडाबासीको सहभागितामा तालिमको उद्घाटन भएको हो ।
वडाध्यक्ष पशुपती चौधरीका अनुसार आजबाट सञ्चालित तालिममा वडाका महिलाहरुलाई तालिमसंगै रोजगारकोसमेत ग्यारेण्टी गरिएको छ । १ नं. प्रदेश सांसद सुनिता चौधरीको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार अन्तर्गत पाँच लाख रुपैया लगानीमा ढाकाको सारी बनाउने विशेष तालिम सञ्चालन गरिएको हो । तालिममा १० जना महिला सहभागि छन् ।
उदयपुरमा ब्यवसायिकरुपले ढाका उद्योग सञ्चालन भइरहेको मकुन ढाका क्रियसनले तालिम गराएको छ । एकमहिना तालिममा सहभागिलाई ढाका बन्न सक्ने सीप प्रदान गरिने र उनीहरुलाई उद्योगमै रोजगार दिइने प्रशिक्षक एवम् ढाका उद्योग प्रोपाईटर उस्मा राईले बताईन् ।
प्राविधिक हिसावले ढाका सम्बन्धी तालिम सञ्चालन गर्न खर्चिलो र झन्जटिलो हुने गर्छ । यसको तान बनाउन आधुनिक किसिमको शैली प्रयोग हुनेगर्छ । विशेष किसिमको काठ र बाँसको सामानले बनाइने तानको जोहो मुस्किल पर्ने भएकाले तालिम सञ्चालन यदाकदा मात्र हुने गर्दछ ।
ढाका बुन्नु एक राम्रो नेपाली सीप भएको र यो सिपले राम्रो रोजगारी सिर्जना गर्ने भएकोले यसमा लगानी गरिएको प्रदेश सांसद चौधरीको भनाई छ । विभिन्न जिल्लाको पहिचान ढाकासंग जोडिएको पाएकोले उदयपुरलाई पनि “उदयपुर ढाका” भनेर पहिचान गराउने इच्छा उनले ब्यक्त गरिन् । कार्यक्रममा विभिन्न वक्ताहरुले तालिम र सहाभागिलाई सफलताको शुभकामना दिए ।
तलिमपछि ढाका कपडा उत्पादन गरी विशेष साडी बनाउनेमा जोड दिने भएपनि यो कपडाबाट सबैखाले पहिरन बन्दछ । पछेउरादेखि दौरा–सुरुवाल, स्टकोट, कोट, टोपी, खादा, झोला, पर्स, रुमाल आदि बन्दछन् । ढाका किन्न केही महंगो भएपनि जाडो वा गर्मी दुबै मौसममा लगाउन उपयुक्त कपडा भएको र यसले विशेष शोभा दिने गर्छ ।
ढाका कपडा र यसबाट बनेका सामानको नेपाली बजार राम्रो रहेको छ र यसको माग विदेशमासमेत हुने गरेको उद्यमीहरु बताउछन् ।
