
पूर्णपुष्टि, कार्तिक १६ । चार दिनदेखि बन्द रहेको बञ्चरेडाँडा ल्याण्डफिल साइट आइतबार खुलेको छ । सहरी विकास मन्त्री कुलमान घिसिङले स्थानीयको माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिने सहमति भएको हो ।
ककनी गाउँपालिका ३ नम्बर वडाध्यक्ष घननाथ बजगाँईले मन्त्रीको प्रतिबद्धतापछि स्थानीयले फोहोर फाल्न दिएको जानकारी दिए । उनले भने, “स्थानीयको माग सम्बोधन १५ दिनभित्र भएन भने फोहोर फाल्न रोक्नुस्, तर अहिले नरोक्नुस् भनेर मन्त्रीज्यूले नै भनेपछि हामीले फोहोर फाल्न दिएका हौं ।”
आइतबार बिहान सहरी विकास मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र वातावरण विभाग प्रमुख सरिता राईसहितको टोली बञ्चरेडाँडामा पुगेको थियो । टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरी सहमति जुटाएको हो । साइट खुलेसँगै काठमाडौं उपत्यकाका स्थानीय तहबाट रोकिएका गाडीहरू फोहोर फाल्न बञ्चरेडाँडा पुग्न थालेका छन् ।
किन अवरोध गरेका थिए स्थानियले ?
ल्याण्डफिल साइट क्षेत्रका प्रभावित स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयनमा संघीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै फोहोर फाल्न अवरोध गरेका थिए ।
शुक्रबार सहरी विकास मन्त्रालयमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहबाट दैनिक १५० गाडीभन्दा बढी फोहोर बञ्चरेडाँडामा फालिने गरेको छ ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटबाट नुवाकोटको ककनी गाउँपालिका र बेलकोट गढी नगरपालिका तथा धादिङको धुनिबेशी नगरपालिकाका स्थानीय प्रभावित हुँदै आएका छन् ।
