Monday, June 29News That Matters

१८ दिने शिशुसहित २४ जना कोराना मुक्त

पूर्णपुष्टि, असार २६

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र १८ दिने शिशुसहित २४ जना उपचारपछि निको भएका छन् ।

स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि आइसोलेनमा बसेको १४ दिनपछि पुुनः स्वाप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार साँझ उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

सिञ्जा गाउँपालिका–४ काडागाउँकी ३९ वर्षीया एक महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चा, सुत्केरी आमासहित २४ जनालाई घर पठाइएको अस्पतालले जनाएको छ ।

प्रतिष्ठानको आइसोलेसनमा अझै १२ जना रहेका र उनीहरुको रिपोर्ट पनि नेगेटिभ आउने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ ।

डिस्चार्ज भएकाहरुले १४ दिन होम क्वारेन्टाईनमा बस्नु पर्नेछ ।

यस पटक कोरोना सङ्क्रमणबाट निको हुनेमा सुत्केरी महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरु रहेका छन् । यसअघि पनि भारतबाट आएका केही व्यक्ति र क्वरेण्टीन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सहयोगी गरी २६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका थिए ।