
पूर्णपुष्टि, असार २९
१ न. प्रदेशबाट एकै दिन ३३ जना कोरोना मुक्त भएका छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आइसोलेसनमा उपचाररत ३३ जना निको भएर सोमबार डिस्चार्ज भएका हुन् ।
अस्पतालमा उपचाररत १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूमा पछिल्लो दोस्रो पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
मोरङका ५ जना, झापाका २० जना, सुनसरी २ जना, ताप्लेजुङका १ जना, सङ्खुवासभाका ३ जना र खोटााङका २ जना डिस्चार्ज भएका छन् । उनीहरूको डिस्चार्जपछि ४२ जना उपचाररत बाँकी रहेको अस्पतालले जनाएको छ ।
अहिलेसम्म २ सय २७ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । त्यहाँ भर्ना गरिएकामध्ये हालसम्म छ जनालाई बीपी प्रतिष्ठान धरान र कोशीको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा रेफर गरिएको थियो । रेफर गरिएकाहरू समेत उपचारपछि निको भएर डिस्चार्ज भईसकेका छन् । गोठगाउँमा अहिलेसम्म २ सय ७५ जना भर्ना भइसकेका छन् ।
१ न. प्रदेशमा कुल सङ्क्रमित ७ सय २४ जनामध्ये उपचारपछि निको भएर डिस्चार्ज हुनेको सङ्ख्या ६ सय ४ जना पुगेको हो ।
१ न. प्रदेश अन्तर्गतका विभिन्न अस्पतालमा अब १ सय २० जना सङ्क्रमित उपचाररत रहेका छन् । प्रदेशमा सङ्क्रमणपछि निको भएर डिस्चार्ज हुनेको ८३.४२ प्रतिशत पुगेको छ ।
