Friday, May 22News That Matters

१ हप्तामा खाडीमा कोरोनाबाट १६ जना नेपालीको मृत्यु

पूर्णपुष्टि, साउन ४

पछिल्लो एक हप्तामा खाडी देश कतार, कुवेत र यूएईमा १६ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

गत हप्ता कतारमा ८, कुवेतमा ३ र यूएईमा ५ जना नेपालीको कोरोनाबाट मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

कतारमा मृत्यु भएका ८ जनामध्ये २ जनाको मृत्यु हुनु अघि नै कोरोना पुष्टि भएको र बाँकी ६ जनाको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य समितिले जनाएको छ । शनिबार साँझसम्म विभिन्न १४ देशमा रहेका १ सय ६० जना नेपालीको कोरोनाका कारण मृत्यु भएको जनाईएको छ ।

२० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । अहिलेसम्म कोराना सङ्क्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु निको भएको स्वास्थ्य समितिले जनाएको छ । पछिल्लो समय अफ्रिकी देशमा कोरोना सङ्क्रमित नेपाली बढेका थिए । तर अहिले सबैजना उपचारपछि निको भएका छन् ।

अहिलेसम्म विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली सङ्क्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । अहिलेसम्म विदेशमा रहेका ३१ हजार ५ सय २१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ हजार ६ सय ८१ जना निको भएका छन् भने मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको सङ्क्रमण रहेको संघले जनाएको छ ।