Friday, May 22News That Matters

ठोरीको सिता गुफा नजिकैको नेपाल–भारत सिमा स्तम्भ उखेलेर फाले

पूर्णपुष्टि, साउन ४

पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको नेपाल–भारत सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको थियो ।

ठोरीवासीले शनिबार बिहान सीता गुफा क्षेत्रमा पूजापाठ गरेका थिए । अमृतधाराबाट जल भरेर स्थानीयले कलश यात्रासमेत गरेका थिए । शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै भएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीले जनाएको छ ।

भारतीय सीमा सुरक्षाबल (एसएसबी)का इन्सपेक्टरसमेत सो क्षेत्रमा खटिएका थिए । पूजापाठ सकिएपछि सबैजना आ–आफ्नो घर गइसकेपछि मात्रै दुवैतर्फका सुरक्षाकर्मी क्याम्पमा फर्केको थियो । तर शनिबार अपरान्ह एकाएक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

बिहान पूजापाठ हुँदासम्म नेपाल–भारत सीमामा अवस्थित सीमा स्तम्भ देखिएको तर अपरान्ह एकाएक उखेलिएको थियो । अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने ठोरी गाउँपालिकाले जनाएकाले जनाएको छ ।

सिमा स्तम्भ गहिरो नगाडेको देखिएको छ । करिब एक हात बराबर गहिरो खाडल बनाएर गाडिएको देखिएको छ । सीमा स्तम्भ रहेको स्थानभन्दा केही मिटर टाढा सीमा स्तम्भ फेला पारेको प्रहरीले जनाएको छ । सीमा स्तम्भ उखेलिएकोबारे माथिल्लो निकायमा जानकारी गराइसकेको प्रहरीले जनाएको छ ।

भारततर्फका एसएसबी बल र सशस्त्र प्रहरी टोलीले उखेलेर फालिएको अवस्थामा फेला परेको सीमा स्तम्भको सुरक्षा गरिरहेको जनाएको छ । सीमा स्तम्भ कसले र किन उखेलेर फाल्यो भन्ने विषयमा केही खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सीमा स्तम्भ एकाएक उखेलिएपछि ठोरीका बासिन्दाले यसलाई षडयन्त्रको रुपमा लिएका छन् ।