Saturday, May 23News That Matters

४७ वटा हिमताल फुट्ने खतरा

पूर्णपुष्टि, भदौ २६

नेपालमा क्षति पु¥याउन सक्ने खालका ४७ वटा हिमतालहरु फुट्न सक्ने खतरामा रहेको एक अध्ययनले देखाएको छ ।
नेपालमा २१ वटा, तिब्बतमा २५ वटा र भारतमा एउटा ताल फुट्न सक्ने जोखिममा रहेकोे अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले हालै गरेको अध्ययनले देखाएको हो ।

ती ताल फुटेमा नेपालका नदीमा बाढी आउँछ । खतरामा रहेका ४७ मध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल सबैभन्दा बढी सम्भावित खतरनाक रहेको पनि इसिमोडले जनाएको छ ।

४७ मध्ये ४२ वटा हिमताल कोशी नदी बेसिनका रहेका छन् । यस्तै तीनवटा गण्डकी र दुईवटा कर्णाली बेसिनका रहेका इसिमोडले जनाएको छ ।

अध्ययनका क्रममा कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा तीन हजार छ सय २४ वटा हिमताल पाइएका छन् । तालहरूको विशेषता एवम् तालहरूको प्राकृतिक बाँध, स्रोत, हिमतालको गतिविधि तथा वरिपरिको अवस्थालाई अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनमा विषम मौसमको अवस्था, भौगर्भिक अवस्था र हिमताल वरपर हुने मानवीय गतिविधिलाई भने नहेरिएको इसिमोडले जनाएको छ । जोखिमपूर्ण अवस्थामा रहेका हिमतालहरू फुटे भने सबैभन्दा बढी असर पहाडी क्षेत्रमा देखिनेछ ।

समथर भूभागमा असर कम भए पनि प्रभाव भने धेरै तलसम्म देखिने जनाईएको छ । हिमनदी पग्लने क्रम बढिरहेको र नयाँ तालहरू बन्ने क्रम पनि बढिरहेकाले कैयौँ हिमताल फुट्ने जोखिम बढेको जनाईएको छ ।