
पूर्णपुष्टि, असार १३ । केटी पक्षसँग ५० लाख दोईजो मागेको आरोपमा अमेरिकाको ग्रिनकार्ड प्राप्त एक बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको दुहबी नगरपालिका–६ घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई बिहे मण्डपबाटै प्रहरीले पक्राउ गरेको हो ।
यही असार १२ गते काठमाडौंको नक्शालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै ५० लाख रुपैयाँ नपाए विवाह रद्द गर्ने धम्की दिएका थिए । प्रहरीका अनुसार केटा पक्षले केटी पक्षबाट पटक–पटक गरी २२ लाख रुपैयाँसमेत लगिसकेका छन् ।
विवाद बढ्दै जाँदा बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात समेत भएपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका रौनियारमाथि विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
