Monday, April 20News That Matters

५ दिनदेखि बेपत्ता भएकी ७ वर्षीया बालिकाको शव इनारमा भेटियो

पूर्णपुष्टि, साउन १५

सोमबारदेखि हराइरहेकी ७ वर्षीया बालिकाको शव इनारमा भेटिएको छ । धनुषा गणेशमान चारनाथ नगरपालिका–१० स्थित बरमझिया बस्ने विरेन्द्र यादवकी छोरी प्रिती यादवको शव आज इनारमा कुहिएको अवस्थामा फेला परेको हो ।

घरबाट करिब एक किलोमिटरको दुरीमा खेतको एउटा पुरानो इनारमा शव तैरिरहेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनुभयो । सिग्देलका अनुसार बालिकाको  शव कुहिएको अवस्थामा भेटिएको छ ।

सोमबार साँझ ५ बजेपछि आफ्नै घरबाटै बालिका बेपत्ता भएकी थिइन् । पसलबाट केही खानेकुरा किनेर ल्याएको १० मिनेटपछि उनी हराएको आफन्तको भनाइरहेको प्र्रहरीले जनाएको छ ।

हराएकै दिनदेखि खोजी गर्दै जाँदा आज विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार यसअघि दुई तीन दिन पहिलेसमेत सो इनारमा प्रहरी र स्थानीयले बालिकाको खोजी गरेका थिए ।

करिब १० वर्ष पहिले पनि एक जना युवतीको हत्या गरि लास त्यो इनारमा फालिएको थियो । फेरि पनि कसैले हत्या गरेर त्यहीँ लास फालिदिएको हुनसक्छ भनेर बाँसले चलाएर इनारमा शव खोजी गरिएको थियो तर भेटिएन । आज बिहानै इनार छेउमा जाँदा गन्ध आएपछि हेर्दा बालिकाको शव रहेको स्थानीयको भनाई छ ।

हत्या गरेर कसैले शव इनारमा फालेको हुनसक्ने स्थानीयको आशंका छ । यद्दपी अहिले घटना अनुसन्धानको क्रममा रहेको र शव पोष्मार्टमको रिपोर्ट आइसकेपछि मात्र हत्या भएको वा नभएको भन्न सकिने प्रहरी निरीक्षक सिग्देले बताउनुभयो

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।