Monday, July 6News That Matters

हिरासतभित्रै एक थुनुवा शौचालयमा झण्डिएको भेटिए

पूर्णपुष्टि, साउन १५

हिरासतमा रहेका एक थुनुवा आज शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका थुनुवा झुण्डिएको अवस्थामा भेटिएको हो । आज बिहान करिब साढे ४ बजे हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा लक्ष्मीनियाँ गाउँपालिका–२ का ४० वर्षीय पल्टु रविदासको शव फेला परेको धनुषाका एसपी प्रकाश रानाभाटले बताउनुभयो । रानाभाटका अनुसार पल्टु आफ्नै भाइ विल्टु रविदाससँग घरायसी विवादमा परेर ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा पक्राउ परेका थिए ।

धनुषा जिल्ला अदालतबाट दुई लाख धरौटी माग भएको र सो रकम उनले तिर्न नसक्दा कारागार कार्यालय सिन्धुली पठाउन आदेश दिएको थियो ।

कारागार पठाउने तयारी गरिरहेकै बेला पल्टुले आत्महत्या गरेको प्रहरीको दाबी छ । आर्थिक रूपले विपन्न रहेको र जेल भयका कारण उनले आत्महत्या गरेको हुनसक्ने एसपी रानाभाटले बताउनुभयो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।