Saturday, April 25News That Matters

७० जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमण, संक्रमित स्वास्थ्यकर्मीबाटै अन्य संक्रमितलाई उपचार

पूर्णपुष्टि, बैशाख १५

भेरी अस्पतालका ७० स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएका छन् । भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालमा कोरोना संक्रमित बढ्दै जाँदा जन शक्तिको भने प्रचुर अभाव रहेको डा. राजन पाण्डेले बताउनुभयो ।

पाण्डेले सातै जना चिकित्सकहरु इमेरजेन्सीमा कार्यरत रहेको जनाउनुभयो ।

यता बेडको पनि समस्या रहेको छ । करिब २ सयको हाराहारीमा कोरोना संक्रमितहरुका लागि बेड निर्माण गरिएको छ । सामान्य विरामीहरुको त अस्पतालले भर्ना नै लिएको छैन् । बिरामीले बेड नपाइरहेको अवस्थामा चिकित्सकले अस्पतालमा बस्ने कुरा भएन, डा. पाण्डेले भन्नुभयो ।

अस्पतालमा हाल ४ सय जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् । सामाग्रीहरु खासै अभाव नरहेपनि जनशक्ति भने निर्क अभाव भएको अस्पतलाका प्रमुख डा.प्रकाश थापाले बताउनुभयो ।

‘महामारी सुरु भएदेखि नै कम जनशक्ति अनि स्रोतसाधनको अभावका बीच स्वास्थ्यकर्मीले काम गर्न छाडेका छैन’ थापाले भन्नुभयो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हाल ५० जना संक्रमित उपचाररत छन जसमध्ये २८ जनाको स्थिति गम्भीर अवस्थामा रहेको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताउनुभयो ।

‘गम्भीर प्रकृतिका संक्रमित धेरै छन् स्वास्थ्यकर्मी नै संक्रमित हुँदा थप चुनौती थपिएको छ,’ उहाँले भन्नुभयो । उक्त अस्पतालमा चिकित्सकसहित ५ सय ५० जना स्वास्थ्यकर्मी कार्यरत छन ।

कोहलपुरमा हाल १ सय ५० बेडको कोभिड वार्ड बनाइएको छ भने अक्सिजनसहित सय बेड छन । दुई दिनभित्र अस्पतालमा २ सय ५० बेड पु¥याउने अस्पतालका उपनिर्देशक डा. श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका ३० जना स्वास्थ्यकर्मी संक्रमित छन । बेड अभावका कारण सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसिरहेका छन । ‘एक चिकित्सक क्रिटिकल अवस्थामा रहेकाले अस्पतालमा उपचारमा हुनुहुन्छ,’  ‘यो संख्या थप बढ्न सक्छ ।’ डा.श्रेष्ठले भन्नुभयो ।