Sunday, May 17News That Matters

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई प्रहरी जवान घाइते

पूर्णपुष्टि,माघ ३०

पर्साको नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरीका आयुष राय यादव र नरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा उत्खनन् गरेर लैजाँदै गरेको भारतीय ट्र्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । अहिले त्यस ठाउँको अवस्था सामान्य भइसकेको छ ।

पर्साको जगरनाथपुर गाउँपालिकाको पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनि भारतीय बालुवा तस्करले बालुवा उत्खनन् गरेर लैजाने गरेका छन् । ओरिया खोलामा वर्षौँदेखि नेपाली भूमिमा प्रवेश गरी नदिजन्य पदार्थ उत्खनन् गरी लैजाने गरे पनि सुरक्षा निकायले रोक्न सकेको छैन । जसका कारण भारतीय बालुवा तस्करसँग पटक–पटक विवाद र झडप हुने गरेको छ ।