Thursday, March 12News That Matters

प्रादेशिक अस्पतालमा दिनदहाडै स्वास्थ्यकर्मीमाथि कुटपिट

पूर्णपुष्टि, भदौ १८

धनुषाको प्रादेशिक अस्पताल जनकपुरधाममा दिनदहाडै स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । एक महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीलाई एक अज्ञात समुहले कुटपिट गरेका छन् । प्रादेशिक अस्पतालको प्राङ्गणमा बिहीबार दिउँसो गुण्डागर्दी शैलीमा आएको एक समूहले अस्पतालमा कार्यरत अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट गरेको हो ।

अहेव ठाकुरलाई ‘इमर्जेन्सी केस’ रहेको भन्दै अस्पतालको नियमित बैठक चलिरहेकै समयमा बोलाएर अस्पतालको प्राङ्गणमा सो समूहले कुटपिट गरेको थियो । अहेव ठाकुरले प्रादेशिक अस्पताल विकास समितिको बैठक चलिरहेको बेला आफूलाई एक जनाले बाहिर आउन आग्रह गरेको बताए । आफू बाहिर गएपछि उनीहरुले योजनावद्ध ढङ्गले आफूलाई कुटपिट गरेको उनको भनाइ छ ।

कुटपिटबाट घाइते भएका अहेव ठाकुर प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । चिकित्सक ठाकुरमाथि कुटपिटको घटनामा कसको संलग्नता छ भन्ने पनि प्रस्ट हुन सकेको छैन । कुटिएका अहेव ठाकुरले समेत कसबाट आक्रमण भएको हो भन्नेबारे अनभिज्ञता जनाएका छन् ।