Wednesday, June 10News That Matters

भन्सारका कर्मचारी कुट्ने ३ प्रहरी जिल्ला बोलाईयो

पूर्णपुष्टि, साउन २५ गते ।
वीरगञ्ज भन्सार कार्यालय, पर्साका कर्मचारीलाई कुटपिट गर्ने तीन जना प्रहरी जिल्ला तानिएका छन् । प्रहरी चौकी ईनर्वामा कार्यरत तीन जना प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएका हुन् ।
सार्वजनिक सीसीटीभी फुटेजमा कुटपित गर्दै गरेको देखिएका तीन जना प्रहरीलाई सोधपुछका लागि जिल्ला ल्याइएको जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतले बताए । उनले भने, ‘त्यहाँ देखिएका मध्ये एकजना वरिष्ठ हवल्दार र अर्का दुईजना हवल्दार रहेछन्, सोधपुछ थालेका छौं ।’
सोमबार राति साढे ११ बजे ड्यूटीमा रहेका बेला सिभिल प्रहरी हौं भन्दै आएका व्यक्तिले वीरगञ्ज भन्सार कार्यालयका सहयोगी बमबहादुर विशंखेलाई दुव्र्यवहार गरेका थिए ।
भन्सार कार्यालयका अनुसार हरेक दिन राति १० बजेपछि वीरगञ्ज भन्सारको बेरियर बन्द हुने गर्छ । तर सोमबार बेलुकी निर्धारित समयभन्दा डेढ घन्टा पछि चार÷पाँच जना आएर वेरियर खोल्न लगाउँदै कार्यालय सहयोगीलाई कुटपिट र लछारपछार गरेका थिए ।
‘मादक पदार्थ सेवन गरेर नेपाली गाडीमा आएका उनीहरुले नेपाल प्रहरीको स्टाफ हुँ भन्दै गाली गरेका थिए’ विशंखे भन्छन्, ‘मैले कार्ड देखाउन भन्दा पनि टेरेनन्, गाडी पनि प्रहरीको थिएन ।’ घटनापछि न्याय दिलाइदिन भन्दै विशंखेले भन्सार कार्यालयलाई निवेदन लेखेका थिए । त्यसपछि कार्यालयले प्रहरीसँग सहयोग मागेको थियो ।