
भोजपुरको एउटा विकट तर थुप्रै सम्भावना बोकेको पालिका हो “आमचौक गाउँपालिका” । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले यसको मुहार फेर्ने प्रयास गरिरहेका छन् । जनप्रतिनिधिहरुको तर्फबाट पालिकाको नेतृत्व एक प्रभावशील युवा नेता अशोक राईले गरिरहेका छन् । नेकपा केन्द्रको तर्फबाट जीतेका अध्यक्ष राई, आफुलाई राजनीतिक दलको कार्यकर्ता भन्दा पनि सम्पूर्ण आमचौकबासी नागरिकहरुको नेतृत्व (जनप्रतिनिधि) हो भन्ने हेतुले काम गरिरहेको दावी गर्छन् । पालिका र पालिकाबासीको विकास र समृद्धिका लागि थुप्रै योजनाहरु बनाई सकारात्मक पहल, प्रयासका साथ विकासे कदम पनि अगाडि सारिरहेको पाइएको छ । जहाँ इमान्दारिता त्यहाँ विकास भन्ने मान्यता राख्ने अध्यक्ष राई विकास र उन्नतीले पछि परेका, विकट अनि ग्रामिण भेगका आफ्नो पालिकाबासीको निम्न स्तरलाई माथि उकास्न चाहन्छन् । १ नंं प्रदेश मध्ये मै सबैभन्दा बढि पूजीगत खर्च गर्न सफल भएको दावी गर्ने अध्यक्ष राई गरिबीको रेखामुनी रहेकाहरुको मुहारमा खुसी बाँड्न चाहन्छन् । यसका लागि के, कस्ता योजना, पहल, प्रयास र उपलब्धी हाँसिल भए ? करिब अढाईवर्षको समिक्षासंगै अवका दिनहरु कतिको फलदायी होला ? यिनै विषयमा पूर्णपुष्टि मिडियाले गरेको सम्बाद प्रस्तुत छ :
पूर्णपुष्टि : आमचौक गाउँपालिका कस्तो ठाउँ हो ?
अध्यक्ष : आमचोक भोजपुरको दक्षिणी क्षेत्रको एक दुर्गम गाउँपालिका हो । विकासको हिसावले पछाडी परेपनि प्रचुर सम्भावना बोकेको ठाउँ हो । हावा, पानी, भुगोल र जल श्रोत तथा प्राकृतिक सम्पादा र ऐतिहासिक स्थलहरुको कुराले गर्दा प्रचुर सम्भावना बोकेको गाउँपालिका हो । तराईसँग नजिक रहेको पालिका हो तरपनि सडक सञ्जाल र पक्कीपुलले जोड्न नसक्दा अलिक पछाडी परेको छ ।
पूर्णपुष्टि : यहाँले कार्यकालको सुरुवात कसरी गर्नुभयो ?
अध्यक्ष : निर्बाचित भएर सपत ग्रहण गरेपछि नयाँ आर्थिक वर्ष सुरु भएकाले जनता सामु पुगेर त्यहाँका समस्यालाई एकिकृति ढंगले संकलन गरेर बजेट र नीति कार्यक्रम बनाउन लागियो ।
पूर्णपुष्टि : विकास र विकासको निम्ति केमा जोड दिनुभयो ?
अध्यक्ष : भौतिक विकाससँगै मानवीय विकास हुनु पर्छ भन्ने कुरामा गाउँपालिका सचेत छ । त्यसैले कृषी, पर्यटन, आर्थिक विकास, शिक्षा, स्वास्थ्यलाई विशेष महत्व दिइएको छ । भौतिक विकास सडक सञ्जाल, खानेपानीलाई पनि महत्व दिइएको छ । तथापी पनि आर्थिक विकास, कृषी उत्पादन, सहकारी र पर्यटनलाई महत्व दिएर अधिकतम बजेट उक्त शिर्षकहरुमा खर्च गरिरहेका छौं ।
अध्यक्ष राईसंगको भिडियो अन्तरवार्ता हेर्नका लागि यस लिंक खोल्नुहोला ।
पूर्णपुष्टि : अहिलेसम्म पालिकाले गरेका कामहरुको समिक्षा गरौं न ।
अध्यक्ष : पहिलो कुरो त यो मिडियाबाट खुसीको कुरा के बाँड्न चाहन्छु भने, हाम्रो गाउँपालिकाले यो वर्ष पूजीगत तर्फ ९७ दशमलब ४१ प्रतिशत खर्च गरेको छ । चालु तर्फको पनि ९१ प्रतिशत खर्च भएको छ । मुख्य त पुजीगत विकासको बजेट जुन स्थानिय, प्रदेश र संघिय सरकाले कति खर्च गर्न सक्यो भन्ने कुरा महत्वपूर्ण कुरा हुन्छ । तसर्थ यो मिडिया मार्फत के दाबी गर्न चाहन्छु भने १ न. प्रदेशकै सवै भन्दा धेरै प्रतिशत खर्च गर्ने गाउँपालिकामा म पर्छु कि भन्ने लागेको छ । पालिकामा खर्च गर्ने जुन क्षमता छ अझ अधिक छ । त्यसो भएकोले म प्रदेश सरकार र संघिय सरकारसंग स्थानीय सरकारहरुलाई बजेटको भोलुम बढाई दिन आग्रह गर्दछु ।कृषीमा हामीले जोड गरेका छौं । पालिकाको माथिल्लो भेगमा अर्गानिक चियाको सम्भावना भएकाले त्यस क्षेत्रमा चियाको विकास गरिराखिएको छ । त्यस्तै थ्रीपीपीको कन्सेप्टबाट एउटा सामुदायिक फमको कन्सेप्ट बनाईराखेका छौं । बनाएको एक सय ३२ रोपनी जमिन २० वर्षको लागि भाडामा लिएर काम सुरु गरिसकेका छौं । त्यसैगरी यो आमचौकको विभिन्न गाउँहरु, टोलहरुमा नगदेबालिको रुपमा घोषणा गरेका छौँ । भौगोलीक अवस्था अनुसार गाउँमा फरक फरक लिचि, आँप, किवी, कागती, एभोकाडो हुने भएकाले त्यो गाउँलाई पकड एरिया घोषणा गरेर माटो परिक्षण गरेर त्यसको वातावरणको अध्ययन गरेर काम गरिरहेका छौं । सडक सञ्जालको हकमा केहि वर्षको लागि नयाँ ट्रयाक खोल्ने काम बन्द गरेका छौँ । सडकको नाममा विनाश हुने, सडककै कारण पहिरो जाने गाउँ, खेत विगार्ने भएपछि बन्द गरिएको हो । पुरानो सर्वे तथा निर्माण भई राखेका र भईसकेकाको अव, स्तरउन्नती गर्ने, दिगो बनाउने र बाह्रैमास संचालन गर्न ध्यान दिएकाछौं । म निर्वाचित भएर आएको केहि महिनादेखि नै कार्यपालिकाको बैठकबाट यो निर्णय गरेका हौं । अत्यन्तै आवश्यक छ भने कुनै ठउँमा विभिन्न कारणले निर्माण कार्यमा ढिलाई भएको छ भने ४० प्रतिशत उपभोक्ता समिति र ६० प्रतिशत गाउँपालिकाले व्यहोर्ने गरी समितिले कमिटमेन्टका साथ डिपोजिट गरेपछि गाउँपालिकाले अध्ययन गरेर खन्नै पर्ने, जुन त्यस सडकले धेरै लाभ लिन सक्ने, कच्चापदार्थ वा कृषिजन्यबस्तु निकासी गर्न सकिने खण्डमा निर्णय गरेर खन्न सकिने प्रावधान खुल्ला गरिएको छ ।
शिक्षामा तीन वटा सामुदायिक विद्यालय मोडल विद्यालयको रुपमा विकास गर्ने योजना रहेको छ । मैले पालिकामा सवै विद्यालयमा मासिक परीक्षा लिनुपर्छ भन्ने कुरा लागू गरेको छु । किन निजि विद्यालयहरु अपग्रेड हुदै गुणस्तर बृद्धि हुदै गयो ? त्यो भन्दा राम्रो सुविधा दिएर राखेको शिक्षकहरु, अनुदान पनि राम्रो दिएको छ, र पनि सामुदायिक विद्यालय, सरकारी बिद्यालयहरु तल खच्केकोखच्केकै छ । के भो त भन्दा, शिक्षकहरुमा भिजन नभएर पनि, अभिभावकमा पनि सक्रियता नभएको देखिएकाले मासिक परीक्षा अनिवार्य लिने व्यवस्था गरिएको हो । परिक्षाको जुन मसलन्द खर्च गाउँपालिकाले दिने व्यावस्था गरेको छ । आफ्ना नानीहरुको परीक्षाको मार्कसिट लिन आउन अनिवार्य अभिभावकलाई नै विद्यालय उपस्थित आउनु पर्ने व्यावस्था गरिएको छ ।
खानेपानीको लागि गाउँपालिकाको सवै डिपिआर तयार गरिसकेको र प्रदेश सरकारले एक करोड ३५ लाख बजेट दिएको थियो । जुन बजेट विभिन्न उपभोक्ता समिति बनाएर खर्च गर्न नपाईने भएपछि पुनःटेण्डर गरेर गाउँपालिकाको सवै घरमा एक धारा झार्ने लक्ष्यका साथ पाईप खरिद गरियो । डिपिआर गरेर तीन वर्षभित्र मिटर सहितको धारा निर्माण हुने आशा गरिएको छ । त्यसको लागि आधिकारीक गाउँपालिकाले एउटा शाखा अर्थात सस्था दर्ता गरी सस्थामार्फत चल्ने र करिब ५० युवाहरुलाई रोजगार पनि दिलाउने उद्देश्य छ । यसको कार्यविधि नै पास गरिसकेकाले कार्यविधि अनुसार नै काम अगाडी बढ्नेछ ।
पर्यटनको गुरुयोजना बनाईसकेको र पालिकाको दुईवटा क्षेत्रमध्ये एउटा पाङ्चाको सिद्धथानडँडा र अर्को थामडाँडा र धिन्ताङ एरियालाई पर्यटन क्षेत्र घोषणा गरिएको छ । यसको डिपिआर पनि बनिसकेकाले प्रदेश सरकार र संघिय सरकारसँग पर्यटन विकासको लागि बजेट माग गर्ने तयारीमा छौं । यसको आधार कोशी भएकाले उदयपुरसँगको सिमाना रानीटारसम्म जेटबोट ल्याउन सकियो भने धरान, सुनसरी, ईटहरी र उदयपुर सहजरुपले आवत–जावत गर्न सकिने र गर्मीयाममा जेटबोटको यात्रासँगै आमचौकको केहि भुभाग घुमेर जाने सम्भावना भएको छ ।
सडक यातायात जोड्न दुधकोशी अभिषाभ भएको छ । पुल चाहियो । पुल भएत धेरै नै सहज हुनेथियो ।। २०७४ सालमा तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले पक्किपुलको शिलान्यास गरेर गए तर, काम ढिला भएको छ । जुन ठेक्का लागेका ३० महिनाभित्र काम सम्पन्न गर्नु पर्नेमा अहिले दुई प्रतिशत मात्रै काम भएको छ । जयराम लामिछाने ठेकेदारको रसुवा कन्ट्रक्सन र स्वछन्दको जेवी कम्पनीले आएर थोरै काम गरेर भागिदिनु भयो । जनतालाई छारो हाल्न अलिअलि जग खन्ने र चुानव भरी थोरै काम गरेको र चुनावपछि काम गरेको छैन । यस पुलले आमचोकलाई मात्रै नभई भोजपुर खोटाङको धेरै भुभागलाई र शोलुको सगरमाथा बेसक्याम्प जानको लागि सवै भन्दा छोटो बाटो हो ।
तर अचम्म लाग्ने कुरा के छ भने, राज्य कति कमजोर, कति फितलो ? आफ्नो योजना, एउटा व्यक्तिले, एक ठेकेदारले काम नगर्दा धर पाउने, उनको अनुकुलतामा काम गर्ने । आमचोक गाउँपलिकामा सन्चालन गरेको योजनाहरुमा कसैले यस्तो गर्नसक्छ भन्ने कल्पना पनि गर्न सक्दिन । राज्य सयन्त्र काहाँ छ त ? एउटा ठेकेदारलाई भनेको समयमा काम लगाउन नसकनु । प्राविधिक समस्या भए त्यो त राज्यले मिलाउने कुरा हो ।

पूर्णपुष्टि : स्वास्थ्यको नमुना काम भनिदिनोस् न ।
अध्यक्ष : पालिकामा आठओटा स्वास्थ्य चौकीहरु छन् । हिजो आठ गाविसबाट दशवटा वडा बनेका हुन् । दुईओटा वडा स्वास्थ्य चौकी विहिन छन् । तथापी पालिकाले अस्थायी सामुदायिक स्वास्थ्य केन्द्र नाम दिएर, आठ वटा स्वास्थ्य चौकीमा भएका मौजुदा कर्मचारीलाई लगेर दुर्गम, टाढाका जनतालाई स्वास्थ्य सेवा दिएका छौं ।
पूर्णपुष्टि : प्रदेश सरकार, संघीय सरकारसंग समन्वय कस्तो छ र उनीहरुको सहयोग कस्तो रहेको छ ?
अध्यक्ष : सक्दो समन्वय गर्ने प्रयास गरिएको छ । तथापी पनि प्रदेश र संघीय सरकारलेस्थानिय सरकारलाई जति अधिकार दिनुपर्ने हो, जति बजेट दिनुपर्ने हो, यो चाँही नदिई राखेको देखिन्छ । बजेट स्थानीय सरकारलाई पनि नदिने आफु पनि खर्च गर्न नसक्ने अवस्था छ । यो वर्षको डाटा हेर्दा प्रदेश सरकार, संघीय सरकारले ६० प्रतिशत भन्दा माथि खर्चै गर्न सकेन । खर्च नहुनु भनेको राज्य संचालनको प्रश्न हो नी । त्यो पैसा बरु खर्च गर्न स्थानीयसरकारलाई प्रदान गर्नुपर्यो । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो । त्यस बजेटलाई हामी अनियमितता रोकेर खर्च गर्छौ । तर कुनै कुनै स्थानीय तहका जप्रतिनिधिहरुले त्यस्तो नभएको र आफ्नो अनुकुलतामा काम गर्ने र अनियमितता गर्ने गरेको छ । त्यसबाट हामी टाढा बस्नु पदर्छ । देशलाई विकसित र समृद्ध बनाउने हो भने हामी सवै पक्ष ईमान्दर भएर लाग्नु जरुरी छ । हैनभने मुखमा मात्र राम्रो भन्ने, काम नराम्रो गर्यो भने हामी भन्दा पछिका पुस्ताहरुले नराम्ररी दुःख पाउने छन् ।

पूर्णपुष्टि : अवका योजनाहरु कस्ता छन् ?
अध्यक्ष : भौतिक विकाससँगै मानव र आर्थिक विकासलाई हामीले विस्र्याैँ भने त्यो विकास अपुरो कुरा हुन्छ । यी दुई कुरालाई सँगै अघि बढाउने कुरा हुन् । अहिले थुप्रै कामहरु गर्ने कोशी गरिरहेका छौं । सहकार्य गर्दै कार्यविधि बनाएर सहकारी खडा गरेका छौँ । यसले सस्तो दरमा ऋण वितरण गर्ने र त्यो ऋण कोषमै फिर्ता गरी अगाडि बढाउने र करोडौंको बन्नसक्ने सपना देखिएको छ । यहाँका गरिब जनताले साहु, महाजनको सयकडा तीन, चारको ऋण खानु नपरोस् , बेलामा रिण तिर्न नसकेर घरबारी लेख्न नपरोस्, यो स्थितिहरुबाट अन्त्य गर्नुपर्छ भन्नेछ ।
पूर्णपुष्टि : जनप्रतिनिधि बन्दै गर्दाको सोचाई र अहिलेको काम, जिम्मेवारी सोचे जस्तै मिल्दो रहेछ कि नमिल्दो रहेछ ?
अध्यक्ष : पहिलो कुरा, म राजनीति जानेर वा नजानेर ९ कक्षा पढ्दैदेखि सुरु गरेको हो । त्यतिबेला एमाले अखिलबाट सुरु गरेको हो । २०६१ सालमा एमालेबाट म माओवादी केन्द्रमा आएँ । त्यतिबेला म राजनीति गर्दाखरी म अध्यक्ष हुन्छु भन्ने सोचेको पनि थिइन । यो व्यवस्था आउछ भन्ने त्यतिबेला सोचिएको पनि थिएन । तर राजनीतिक परिवर्तन संगसंगै देशले नयाँ संरचना प्राप्त गरेपछि स्थानीय सरकारमा म छु । हिजो राजनीति गर्दा पनि म यस्तो हुन्छु, उस्तो हुन्छु भन्ने सोचिन पनि । समाज परिवर्तन गर्नुपर्छ, विकास निर्माणमा अग्रसर हुनुपर्छ भन्ने मात्र थियो मेरो चाँही । म अध्यक्ष हुनु अघि पनि विकासे नेतै भन्थे । म १० वर्ष त यो रानीटारदेखिको यो सडकको अध्यक्ष भएर काम गरे । यहाँ आमचोकमा गाडीको छाप बसाल्ने नै हामी हौ । हाम्रो टिमको पहलमा । मैले लामो समय नेतृत्व गरे । मैले जागिरे जीवन पनि विताउन सक्ने । योग्यताको हिसावले देशको कुनै पनि ठाउँमा जागिर खानसक्थे । तर, एउटा उपभोक्ता समितिमा सिमित भएर दश वर्ष मेरो उर्जाशिल जीवन मैले यो समाजलाई दिएँ । मलाई लाग्छ,त्यहि भएर यहाँका जनताले मूल्यांकन गर्नुभयो, मलाई जिताउनुभयो । तर म, उहाँहरुले दिनुभएको अमूल्य मतलाई केही, कसैसंग, कुनै पनि स्वार्थ, खराब कामसंग साट्ने छैन ।
पूर्णपुष्टि : भनेपछि, असहज, साह्रो गाह्रौ छैन ?
अध्यक्ष : त्यस्तो छैन । यहाँका प्रतिपक्षी साथीहरुको पनि त्यतिकै सहयोग छ । नागरिक समाजको पनि त्यतिकै सहयोग छ । हाम्रा जनप्रतिनिधिहरुको पनि त्यतिकै सहयोग छ । कर्मचारीहरुको पनित्यतिकै सहयोग छ । सहयोग भने कतिबेला मिल्छ भने आफु सहि हुँदा । आफु पुरै खराब गर्ने अनि, सहयोगको अपेक्षा गर्ने, यो अन्तरविवादित कुराहरु हुन् । त्यसो भएको हुनाले दुईटा कुरा, पहिलो कुरा आमचौकबासी, नागरिक समाज, राजनीतिक दलहरुले गरेको सहयोगप्रति म सल्यौट गर्न चाहन्छु । मैले पनि आफ्नो भूमिका सकारात्मकढंगले पुरा गर्न सकेको हो की भन्ने व्यक्तिगत अनुमान गरेको छु ।

