Sunday, March 16News That Matters

विद्यार्थीको अश्लील तस्वीर बनाएर पोष्ट गरेको आरोपमा शिक्षक पक्राउ

पूर्णपुष्टि, जेठ १० । भक्तपुरस्थित एक स्कुलका शिक्षकलाई विद्यार्थीको नक्कली अश्लील तस्वीर बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विज्ञान विषयका शिक्षक अतुल प्रजापती रहेका छन् ।

विद्यालयकी पूर्वविद्यार्थी अतिरिक्त क्रियाकलापमा सहभागी हुने बेलाका फोटोलाई प्रयोग गरेर उनले अश्लील तस्वीर बनाएको भन्दै पीडितका अभिभावकले साइबर ब्यूरोमा जाहेरी दिएका थिए । पीडितको तस्वीर राख्दै उनले अश्लील स्ट्याटस समेत लेखेको जाहेरीमा उल्लेख छ । यसरी पीडितलाई बदनाम गर्ने, मानसिक तनाव र दुःख दिएर बेइज्जती गरेको भन्दै प्रजापतिविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा कारबाही गर्न माग गरिएको थियो । उक्त जाहेरी पश्चात प्रहरीको साइबर ब्यूरोले प्रजापतीलाई पक्राउ गरेको हो ।

ब्यूरोका एसपी दीपकराज अवस्थीका अनुसार पक्राउ परेपछि उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट साधारण फोटोलाई विभिन्न तस्वीरसँग जोडेर अश्लील फोटो बनाउन सकिन्छ भन्ने सिकेको बयान दिएको बताएका छन् । अन्य व्यक्तिले फेसबुकमा एआईको प्रयोग गरेर बनाइएका फोटाहरू अपलोड गरेको देखेपछि विद्यालयमा कार्यक्रम हुँदा खिचेको विद्यार्थीको फोटो, विद्यार्थीको फेसबुक एकाउन्टबाट सेभ गरी राखेको फोटोलाई एआई लिंकमा गएर मोर्फ गरेर फेसबुक बनाएर अपलोड गरेको उनले बयान दिएको प्रहरीको भनाई छ ।

साइबर ब्यूरोले अनुसन्धानपछि उनीविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा चलाउन भन्दै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गर्न नहुने कसुरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको छ ।