Sunday, April 19News That Matters

नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द

पूर्णपुष्टि, साउन १९ ।  सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको कारण भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेका छन्।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलहरूको प्रसारण रोकिएको छ। उनका अनुसार १५ चैत २०७९ देखि नै यी च्यानलहरूको विदेशी मुद्रा सिफारिस हुन सकेको छैन। प्रवक्ता ठाकुरले भने, “च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका छन्। ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या छैन।”

१ साउन २०८० देखि आलाकार्टा मूल्य प्रणाली लागू भएपछि यी च्यानलहरूको प्रसारण रोकिएको थियो। सरकार पछि नहट्ने सङ्केत पाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए। मन्त्रालयका अनुसार हाल सबै विदेशी च्यानल प्रदायकको करिब एक अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सिफारिस हुन सकेको छैन।