
पूर्णपुष्टि, बैशाख ३०
अक्सिजनको अभावमा कोरोना संक्रमित ८ जनाको रुपन्देही हस्पिटलमा उपचरको क्रममा मृत्यु भएको छ । बिचमै अक्सिजन सकिएर आउनु पर्ने अक्सिजन समेत नआईपुग्दा बिरामीको ज्यान गएको हस्पिटलले जनाएको छ ।
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जना र भीम अस्पतालमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको हो ।
‘आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु हुन पुग्यो’ गएको अस्पतालका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
भीम अस्पतालमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया गाउँपालिका–२ की ७० वर्षीया महिला र सिद्धार्थनगर नगरपालिका–४ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो । संक्रमितले प्रयोग गरेका सिलिण्डरमा अक्सिजन सकिएर करिब ८ मिनेटसम्म अक्सिजन सप्लाई हुन नसक्दा उनीहरुले ज्यान गुमाएका हुन् ।
अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार बिहान हावाहुरीले विद्युत अवरुद्ध हुँदा अस्पतालमा अक्सिजन आपूर्ति हुन ढिला भयो । संक्रमितले प्रयोग गरिरहेको सिलिण्डरको अक्सिजन सकियो, अर्को सिलिण्डर दिन नपाउँदा संक्रमितको ज्यान गयो ।
‘एकैछिन अक्सिजन सप्लाई रोकिएको थियो, अन्यत्रबाट सापटी ल्याइएको अक्सिजन जडान गर्दागर्दै तीनजनाको ज्यान गयो’ पोखरेलले भने, ‘अक्सिजन अभाव छ भनेर भर्ना नलिन पनि नसक्ने, बचाउन पनि नसक्ने अवस्था आयो ।’
