
पूर्णपुष्टि, कार्तिक १७ ।
उदयपुर सिमेन्ट उद्योगको मर्मत सम्भार र क्षमता बिस्तारबाट उत्पादनमा हुने वृद्धिले उद्योगको आर्थिक स्थिति सुदृढ भइ निकट भविष्यमा अवकाश हुने कर्मचारीहरुले उपदान तथा औषधि उपचारको रकम पाउने जनाईएकाेछ । कर्मचारिकाे उपदान र औषधि उपचार कोषमा जम्मा गर्नुपर्ने रकम यस अघिका महाप्रबन्धकहरुबाट नियमित जम्मा नगरिदिएको कारण पछिल्लो समयमा अवकाश प्राप्त कर्मचारीहरुले भुक्तानी पाउन कठिनाइ भएको छ । एकातिर नियमित खर्च ब्यहोर्नुपर्ने र अर्कोतिर पुरानो दायित्व भुक्तानी समेत एकैसाथ गर्नाका लागि कठिन बन्दै गएको उद्याेगले जनाएकाे छ । महाप्रवन्धक गाेपिकृष्ण न्यौपानेका अनुसार उद्योगमा २०७७ माघ १ मा हाजिर भएपछि सो भन्दा पहिले अवकाश प्राप्त २१ जना कर्मचारीको उपदान बापत रु. ५ करोड ५४ लाख ९३ हजार ५ सय २० र औषधि उपचारको रकम रु. १ करोड ५० लाख ३५ हजार गरी कुल रकम रु. ७ करोड ५ लाख २९ हजार भुक्तानी पाइसकेका छन् । कोष बाहेक उद्योगले दिनुपर्ने बिदा मुआब्जा बापतको रकम रु. ७२ लाख ५८ हजार समेत भुक्तानी भैसकेको छ ।
पछिल्लो समयमा उमेर हदका कारण अवकास हुने कर्मचारीको संख्या ह्वात्तै बढेको छ । महाप्रबन्धक न्यौपाने नियुक्त हुनु पूर्वका कर्मचारीलाई भुक्तानी गर्नुपर्ने भएको कारण महाप्रबन्धक नियुक्ति भएपछि अवकाश प्राप्त कर्मचारीले भुक्तानी पाउन सकेका छैनन् । तथापि पछिल्लो समयमा अवकाश प्राप्त मध्ये मृत्यु भएका ३ जनाको हकमा उपदान, औषधि उपचारको लागि रु. १ करोड ५ लाख ४३ हजार र अन्य १८ जना कर्मचारीको हकमा औषधि उपचारको रकम रु. १ करोड १८ लाख गरि कुल रु. २ करोड २३ लाख आजै भुक्तानी गर्न सफल भएकाे उद्याेगले जनाएकाे । बााँकि उपदानको हकमा रकम व्यवस्थापन गर्दै जेष्ठताको आधारमा क्रमश: भुक्तानी गर्दै जाने नीति लिएको छ ।
