
पूर्णपुष्टि, कात्तिक २२
अमेरिकी राष्ट्रपति चुनावको जर्जियामा फेरि मतगणना हुने भएको छ । जर्जियाको सेक्रेटरी अफ स्टेट ब्रैड रेफेन बर्गरले जर्जियामा फेरि मतगणना हुने घोषणा गर्नुभएको हो ।
जर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले एक हजारभन्दा कम मतको अग्रता कायम गर्नुभएको छ । झिनो मतान्तरले निर्णय भएका ठाउँमा फेरि मतगणना हुने गरेको छ ।
जर्जियाको कानुनअनुसार कुल मतको ०.५ प्रतिशतभन्दा कम अन्तरले निर्णय भएमा हार्ने उम्मेदवारले फेरि मतगणना माग गर्न पाउँछ । त्यस्तो माग नतिजा सार्वजनिक भएको दुई दिनभित्र गर्नुपर्ने हुन्छ । जर्जियामा अझै मतगना चलिरहेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो मत परिणामअनुसार मतगणना भइरहेका पाँच मध्ये चार राज्यमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले मतान्तर बढाउँदै लैजानुभएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।
बाईडेन नेभाडामा २१ हजारको मतान्तरका साथ अगाडि हुनुहुन्छ भने एरिजोनामा ४३ हजारभन्दा बढी मतका साथ अगाडि हुनुहुन्छ । नर्थ क्यारोलाइनामा भने सत्तारुढ रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि हुनुहुन्छ ।
राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको हो । अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका ट्रम्प र डेमोक्रेटिक पार्टीका बाइडेन प्रतिस्पर्धामा हुनुहुन्छ । अहिलेसम्म बाइडेनले २ सय ६४ र ट्रम्पले २ सय १४ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ । २ सय ७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।
