Monday, June 29News That Matters

असार ७ गते सूर्य ग्रहण लाग्दै

पूर्णपुष्टि, असार ६ ।

भोली असाढ ७ गते आईतबार बिहान खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । १० बजेर ५४ मिनेटमा ३ घण्टा ३० मिनेट समयसम्म सूर्य ग्रहण लाग्नेछ । ग्रहण नेपालसहित एसियाका सबै देशबाट अवलोकन गर्न सकिने बताइएको छ । नेपाल एसट्रोनोटिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार ग्रहणको मध्य १२ बजेर ३८ मिनेटमा र अपरान्ह २ बजेर २३ मिनेटमा ग्रहण समाप्त हुनेछ । सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहने छ । यो खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई पूर्वमा मोक्ष हुनेछ ।

आइतबार लाग्ने ग्रहण वास्तबमा वलयाकार सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । मध्य अफ्रिकाको कंगो, सुडान, इथियोपिया, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत लगायतका स्थानबाट वलयाकार सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने छ । नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिन्छ भने काठमाडौबाट ८२ प्रतिशतसम्म सूर्य ढाकिनेछ ।

खाली आँखाले नहेर्न विज्ञको सुझाव

यसैबीच सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर, टेलिस्कोप, एक्स रे प्लेट वा ध्वाँसो लगाएको ऐनाले नहेर्न विज्ञहरुले सुझाव दिएका छन । शास्त्रका अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतक प्रारम्भ हुन्छ । त्यसैले असार ६ गते राती १० बजेर ५० मिनेट देखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिला बाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको छ ।