
पूर्णपुष्टि,वैशाख १० । आज अप्रिल २३ तारिख अर्थात अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले २३ अप्रिल सन् १९९५ देखि मनाउन सुरु गरेको यो दिवस नेपालमा भने पाँच वर्षअघिदेखि मात्रै मनाउन थालिएको हो ।
दिवसका अवसरमा मंगलवार नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको आयोजनामा ‘हातहातमा पुस्तक, घरघरमा पुस्तकालय’ भन्ने नाराका साथ विचारगोष्ठी आयोजना गरेको छ ।
यसैबीच सत्याल बुक्स एन्ड स्टेसनरीले पाठ्यक्रममा आधारित पुस्तकका सारांश समेटेर प्रकाशित विद्यालयस्तरीय अभ्यास पुस्तिका सोमावर सार्वजनिक गरेको थियो । गणित, अङ्ग्रेजी, नेपाली, विज्ञानजस्ता विषयमा ती अभ्यास पुस्तिका प्रकाशन भएको प्रकाशनका प्रबन्ध निर्देशक अजय सत्यालले बताउनुभयो ।
नेपालमा केही वर्षयता पढ्ने बानीको विकास भएसँगै साथीभाइलाई पुस्तक उपहार दिने चलन बढ्दै गएको छ।
