
पूर्णपुष्टि,वैशाख १० । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अन्तर्गत आज (आइतबार) तीन जिल्लामा मतदान हुँदैछ । निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुन लागेको मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य रिक्त भएको थियो।
नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ रिक्त थियो । बारा–२ मा जनता समाजवादीका अध्यक्ष रामसहायप्रसाद यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतका उम्मेदवार छन्।
तनहुँ–१ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन् । त्यस्तै चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उम्मेदवार छन्। त्यहाँ नेपाली कांग्रेसले जितनारायण श्रेष्ठ र नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ।
तीन निर्वाचन क्षेत्रमा आज हुने उपनिर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६५ उम्मेदवार रहेका छन्।
