
पूर्णपुष्टि, मंसिर ३० । किरात राई समुदायले आज मार्गशीर्ष शुक्ल पुर्णिमाको दिन उधौली पर्व मनाउँदैछ । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् ।
भूमिपूजा गर्दै आज बिहानैदेखि किरात समुदायले जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच) सहित पर्व मनाउछन् । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने गरिन्छ ।
