Monday, June 29News That Matters

आज कुवेतबाट १५० जना नेपाली आईपुग्यो

पूर्णपुष्टि, असार ५ गते । 

आज पनि कुवेतबाट १ सय ५० जना नेपाली स्वदेश फर्किएका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० जना नेपालीलाई लिएर जजिरा जहाज काठमाण्डौँ आईपुगेको हो ।

कुवेतबाट जजिरा एअरलाइन्सले १ सय ५० जना यात्रु र दुईवटा शव ल्याएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कुवेतबाट यसअघि ५ उडानमार्फत ७ सय ४८ जना स्वदेश फर्किसकेका छन् ।

त्यहाँ आममाफीमा सहभागी भएकाहरुलाई कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ । आममाफीमा सहभागी झण्डै ३ हजार नेपाली छन् । उनीहरु सबैलाई कुवेतले निःशुल्क रुपमा ल्याइदिने छ । जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फर्काइएको छ । बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेकाले दूतावासले जनाएको छ ।

यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।

घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिनेछ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउनेछ । यात्रा गर्न नसक्ने, कुनै स्वास्थ्य समस्या भएमा वा कोरोनाको आशंका भएमा काठमाण्डौकै आपलकालीन क्वरेण्टीनमा राखिनेछ ।