Sunday, June 14News That Matters

आज जैविक विविधता दिवस

पूर्णपुष्टि,जेष्ठ ८ । आज मे २२ अर्थात ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ । जैविक विविधताको महत्त्वलाई दर्साउन यो दिवस विश्वभर आज मनाइदै छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ । जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गर्‍यो ।

त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २०००डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र सङ्घको महासभा बैठकको निर्णय नम्बर ५५र२०१ ले थप अङ्गीकार गर्‍यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भयो । त्यसयता हरेक वर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइँदै आएको हो ।