
पूर्णपुष्टि, साउन २६ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। मनसुनी वायुको प्रभावका कारण हाल नेपालभर आंशिकदेखि साधारणतया बदली मौसम रहेको छ। मनसुनको न्यूनचापीय रेखा अझै पनि सरदर स्थान आसपास रहेकोले यसको प्रभाव देशभर देखिने अनुमान गरिएको छ।
दिउँसोको समयमा देशका विभिन्न भागहरूमा फरक-फरक मौसमी अवस्था रहने पूर्वानुमान गरिएको छ। कोशी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने देखिन्छ। विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा मौसमी गतिविधि अझै बढ्ने अनुमान छ। देशभर आंशिकदेखि साधारणतया बदली रहने र अधिकांश प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ भने मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने देखिन्छ।
विशेष गरी वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र कोशी प्रदेशको एक-दुई स्थानमा रातिको समयमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तो मौसमी अवस्थाले गर्दा सम्भावित जोखिमहरूप्रति सचेत रहन र आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई सुझाव दिइएको छ।
