Tuesday, April 21News That Matters

आज नागपञ्चमी: परम्परा र विश्वासको उत्सव

पूर्णपुष्टि, साउन २५ ।  आज श्रावण शुक्ल पञ्चमीका दिन देशभर नागपञ्चमी पर्व धुमधामका साथ मनाइँदैछ। यो पर्व हिन्दू धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने चाड हो, जसमा नागको पूजा गरिन्छ। परम्पराअनुसार आजको दिन घरको मूल ढोकामा नागको चित्र टाँसिन्छ, जसले वर्षभरि घरलाई नाग, सर्प र अन्य विषालु जीवहरूबाट सुरक्षित राख्ने विश्वास गरिन्छ।

नागपञ्चमीको अवसरमा काठमाडौंको नागपोखरी, टौदह र भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। यहाँ श्रद्धालुहरूले नागलाई दूध, खीर, रोटी जस्ता प्रसादहरू चढाउँदै पूजा गर्दैछन्।

यस दिन खेतबारीमा खनजोत गर्न र घस्रने जनावरहरूलाई हानी पुर्‍याउन नहुने मान्यता रहेको छ। वैज्ञानिकहरूका अनुसार, नाग र सर्पहरूले प्रकृतिमा भएका विषालु पदार्थहरूलाई शोषण गरी वातावरणलाई सन्तुलित राख्न मद्दत गर्छन्, जसले गर्दा प्राचीन ऋषिमुनिहरूले यी जीवहरूको पूजा गर्ने परम्परा सुरु गरेको मानिन्छ। नागपञ्चमीसँगै नेपालमा चाडपर्वको मौसम सुरु हुन्छ। यो पर्व नेपाली संस्कृति र परम्पराको एक अभिन्न अंग हो, जसले प्रकृति र मानव बीचको सम्बन्धलाई जोड दिन्छ।