Sunday, June 14News That Matters

आज विश्व पानी दिवस मुलुकभर बिभिन्न कार्यक्रम गर्दै मनाइँदै

पूर्णपुष्टि,चैत्र ८ । आज मार्च २२ तारिखका दिन विश्व समुदायले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय पानी दिवस मनाउँदै छ । विश्वका सबै महादेश अनि देशहरूमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धता गराउने उद्देश्यका साथ यस दिवसको रूपरेखा तयार पारिएको हो । नेपालमा पनि राष्ट्रिय गैर तथा अन्तर्राष्ट्रिय संघ संस्थाले पानीको स्रोत संरक्षणको लागि जनचेतना जगाउन कार्यक्रम गरी मनाउँदै छ ।

सहरी विकास मन्त्रालय र जल तथा ऊर्जा आयोगको अगुवाइमा देशका विभिन्न स्थानमा विश्व पानी दिवससम्बन्धी कार्यक्रम गत मङ्गलबारदेखि ‘जल सप्ताह’ अन्तर्गत सञ्चालन भइरहेका छन् । ‘नेपालमा दिगो विकासका लागि पानी’ नाराका साथ सञ्चालित ती कार्यक्रममा उपभोक्ताका साथै सरसफाइ तथा खानेपानीको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाको उत्साहजनक सहभागिता छ ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।

विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।