
पूर्णपुष्टि, असार ६ । आजदेखी सुरु हुने दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्दैछ ।
भारतको बेंग्लोरमा हुने साफ प्रतियोगितामा कुवेत आमन्त्रित टिमको रुपमा सहभागी भएको छ । छोटो तयारीकाबीच भारत पुगेको नेपालका लागि यस संस्करणमा कठिन चुनौती रहेतापनि नेपाली टिम कठिन चुनौतीको सामना गर्न तयार भएको प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बताएका छन्।
सन् २०१९ यता नेपाल र कुबेत भएको पाँच खेलको चार खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । सन् २०१९ मा कुवेतमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो भने गत वर्ष एसियन कपको छनोटमा कुवेतले नेपालमाथि ४–१ गोलको जित निकालेको थियो। कुवेत नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो।
गत साता फिलिपिन्ससँग मैत्रीपूर्ण खेलेपछि नेपाली राष्ट्रिय टोली साफ च्याम्पियनसिपका लागी भारत प्रस्थान गरेको थियो । फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा नेपाल १–० गोलले पराजित भएको थियो । नेपालले साफका लागि कमजोर तयारी गर्दा अरु टिमले भने राम्रो तयारी गरेका छन्। साफका लागि भारतले घरेलु मैदानमा इन्टरकन्टिनेल्टल कप आयोजना गर्यो। भानुआटु, मंगोलिया र लेवनानसँग खेल्दा भारतले अपराजित रहदै उपाधि जित्यो।
आठ राष्ट्र सम्मिलित यस च्याम्पियन सिपमा दुई समुह विभाजन गरिएको छ । समुह ‘ए’ मा नेपाल, भारत, कुवेत र पाकिस्तान छ भने समुह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्। दुवै समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल आगामी असार १९ मा हुनेछ। च्याम्पियनसिपको यो संस्करणमा साफ बाहिरका टिमलाई आमन्त्रित टिमको रुपमा सहभागी गराउने निर्णयअनुसार लेवनान र कुवेतले पनि साफ खेल्न लागेका हुन्।
नेपालका खेल
नेपाल भर्सेस कुवेत – असार ६– दिउँस ३:४५ बजे
नेपाल भर्सेस भारत– असार ९– राति ७:४५ बजे
नेपाल भर्सेस पाकिस्तान– असार १२ – दिउँस ३:४५ बजे
नेपाली टिम
गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ रहेका छन् । डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा रहेका छन् । मिडफिल्डरमा पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु, आभास लामिछाने रहेका छन् । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर रहेका छन् ।
