
पूर्णपुष्टि, असार २५
इलाममा कोरोना संक्रमित श्रीमान श्रीमतीको एकैदिन ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको कारोनाले विहिबार ज्यान गएको हो । श्रीमान् टेकबहादुरको हिजो बिहान र श्रीमती लक्षीहाङमाको अपरान्ह साढे ३ बजे ज्यान गएको थियो ।
लावती परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि भएकामा २ जनाको ज्यान गएको हो । एकै परिवारका २ संक्रमितको ज्यान गएसँगै गाउँमा निकै त्रास फैलिएको छ ।
स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस संक्रमणका कारण होमआइसोलेशनमा छन् । छ दिनअघि उनीहरुलाई संक्रमण पुष्टि भएको थियो ।
संक्रमित सबै होमआइसोलेशनमा थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाती कोरोना संक्रमित रहेको बताइएको छ । स्थानीयहरुका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।
हालसम्म कोरोनाबाट इलाममा ५२ जनाको ज्यान गइसकेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
