Tuesday, June 2News That Matters

इलामबाट काठमाडौंको हवाई उडान फागुन ८ देखि सूचारु हुने

पूर्णपुष्टि, माघ २६
इलामबाट काठमाडौंको हवाई उडान फागुन ८ गतेदेखि सूचारु हुने भएको छ । व्यावसायिक उडानको तयारी भइरहेको जिल्ला फाल्गुननन्द–सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । बुधबार दिउँसो नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको हो । विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै परिक्षण उडान गरिएको छ ।
फाल्गुननन्द–सुकिलुम्बा विमानस्थलबाट ८ फागुनबाट व्यवसायी उडान सुरु हुँदैछ । तारा एयरलायन्सले साताको एक दिन काठमाडौँ–इलाम–काठमाडौँ उडान गर्ने तयारी छ । नियमित उडान गर्न इलाम नगरपालिका र तारा एयरलाइन्सबीच सम्झौता भइसकेको छ । प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र एयरलाइन्सबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नुपर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा आठ हजार सात सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थ सेवाको व्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
विमानस्थलबाट नियमित उडान भए इलामको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । इलाममा हवाई यात्रा नहुँदा यहाँ आउन चाहने पर्यटकहरू पनि लामो यात्रा गर्नुपर्ने झन्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन् । फाल्गुननन्द–सुकिलम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका यात्रुलाई हवाई यात्राका लागि सहज हुनेछ ।