Friday, May 22News That Matters

उदयपुरमा ५ दिन निषेधाज्ञा थपियो

पूर्णपुष्टि, भदौ ५

कोरोना संक्रमण बढ्दै गएपछि उदयपुरका तीन नगरपालिकामा जारी निषेधाज्ञालाई पाँच दिन थप्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा सुरक्षा समितिको बैठकले त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

अहिले जारी निषेधाज्ञा गत साउन २९ गते राती १२ बजेबाट सुरु भई भदौ ७ गते राती बजेसम्म जारी राख्ने निर्णय भएको थियो । तोकिएको समय सिमा सकिनै लाग्दा समुदाय स्तरमा फैलिएको कोरोना भाईरस नियन्त्रणमा आईनसकेको निषकर्ष निकाल्दै समितिले पाँच दिन थप गर्न सिफारिस गरेका थियो ।

निषेधाज्ञामा यसअघि अवलम्वन गरिएका नियमहरु पुर्णरुपमा पालन हुने गरी बैठकले निर्णय गरेको प्रजिअ पाण्डेले बताए । यसअघि बिहान ९ देखि १२ बजेसम्मका लागि खाद्यान्नका पसल खोल्ने र बाँकी सबै ठप्प राख्ने निर्णय भएको थियो । निषेधाज्ञामा भने सरकारले सुचिकृत गरेको अत्यावश्यक सेवा मेडिकल, पानी, दुधका पसल र सवारी भने निरन्तर रहने उनले बताए ।

जिल्लामा १ सय ११ जनामा कोरोना पुष्टि भइसकेको र यो संख्या अझै बढ्न सक्ने अवश्था देखिएकाले निषेधाज्ञा जारी गर्नु परेको प्रजिअ पाण्डेको भनाई छ । छिमेकी जिल्ला सिरहा, सप्तरी र सुनसरी जिल्लामा संक्रमण र संक्रमितको मृत्युको संख्या बढ्दै गएकाले पनि निषेधाज्ञा जारी राख्नुपर्ने अवश्था आएको उनले बताए ।

प्रजिअ पाण्डेले भने, ‘समुदायमा फैलिएको कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने देखिएकाले कडाई गर्नु परेको हो ।’ प्रशासनले दमकल, एम्बुलेन्स, शव बाहन, दूध, खानेपानीका गाडीहरु बाहेक अन्य सवै निजी तथा भाडाका सवारी साधानहरु संचालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।