
पूर्णपुष्टि, फागुन २१ ।
उदयपुर जिल्ला अदालतमा मुद्दाको संख्या बढ्दो देखिएको छ । बुधबार अदालतले एक तथ्यांक सार्बजनिक गर्दै विगत चार आर्थिक वर्षको आँकडाबाट नयाँ दर्ता मुद्दाको संख्या बढ्दो अवस्थामा रहेको जनाएको हो ।
आर्थिक वर्ष ०७३/०७४ मा ७ सय २१ रहेको मुद्दा आ.व. ०७४/०७५ मा ८ सय ३९, आ.ब. ०७५/०७६ मा ९ सय ४२ र चालु आर्थिकवर्षको हालसम्ममा ६ सय ४५ वटा मुद्दा दर्ता भएका छन् । यो आर्थिक वर्षमा मुद्दा हजार नाघ्ने अनुमान गरिएको न्ययधिश दिपक खनालले बताउनुभयाे ।

दुईजना न्यायधिस रहेको अदालतमा मुद्दा संख्या बढ्दो रहेपनि न्याय सम्पादन भने छिटो, छरितो र प्रभावकारी देखिएको छ । विगत तीन आर्थिक वर्षदेखि दुईवर्ष बढिका मुद्दा सबै फैसला भई जिरोमा पुगेको छ । एकवर्षदेखि दुईवर्ष भित्रका संख्या पनि न्यून छ । वार्षिक पर्छ्यौटको अवस्था ७२ प्रतिशतभन्दा बढि छ । याे प्रतिशतलाइ न्याय सम्पादनकाे हिसावले राम्राे मानिन्छ ।
फैसला कार्यान्वयनतर्फ पनि अलादत सफल देखिएको छ । गत आ.ब. ०७५/०७६ मा सबैभन्दा बढि कैद र जरिवाना भुक्तानी गराएको छ । १७ करोड ४१ लाख, ५९ हजार ५ सय ६४ रुपैया जरिवानामा ८ करोड, ८८ लाख, २६ हजार, ४ सय ३० रुपैया भुक्तानी गराउन सफल भएको छ । कैदतर्फ २ हजार १ सय ४० वर्ष २ महिना २१ दिन कैदमध्ये ६ सय ९ वर्ष ५ दिन भुक्तान भएको देखिएको छ । चालु आवमा पनि यहिढंगले फैसला कार्यान्वयनमा अदालत लागिपरेको छ ।
अदालतमा आउने मुद्दामा पछिल्लो समय सबैभन्दा बढि सम्बन्ध विच्छेदको देखिएको छ । त्यसपछि लागूऔषध र जबरजस्तीकरणी देखिएका छन् । चालु आ.व.भित्रमै सम्बन्ध विच्चेद १ सय ९२ पुगेको छ भने लागूऔषध ५२ र जबरजस्ती करणी ३६ वटा मुद्दा छन् । न्ययधिश मनाेज के.सी.का अनुसार यी तिनै प्रकृतिका मुघा समाजलाइ बढि असर पार्ने किसिमका हुन् । यी तिनै प्रकृतिका मुद्दामा सामाजिक सञ्जालकाे दुरूपयाेग प्रमुख छ भने बैदेशिक राेजगार, असमजदारी कारक रहेका छन् ।

यस अलवा अदालतले निरन्तर सुनुवाई मुद्दा, वालवालिका सम्बन्धी मुद्दालाई प्राथमिकताका साथ हेर्ने गरेको छ । मेलमिलाप गर्न मिल्ने मुद्दालाई मिलापत्रकै निम्ति पहिलो प्रयास र पहलका लागि अदालतको भूमिका रहने पनि जनाइएको छ ।
अदालतले छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन, न्यायमा पहुच अभिबृद्धि, न्यायिक सुशासनको प्रवद्र्धन, अदालत व्यवस्थापन सुदृढिकरण र न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिबृद्धिमा ध्यान दिदै हरेक किसिमको न्याय तथा कार्यसम्पादन अगाडि बढाएको छ ।
अदालतले हालसम्म गरेकाे न्याय तथा कार्यसम्पादन, पहल, प्रयास र उपलब्धीबारे जानकारी दिन बुधबार विहान पत्रकार भेटघाट कार्यक्रम भएकाे थियाे ।
