Thursday, May 21News That Matters

उदयपुर अस्पतालमा संगिता सदाले जन्माइन तिम्ल्याहा बच्चा, बाहिर अस्पताल लैजानुपर्ने कुराले परिवारमा चिन्ता

पूर्णपुष्टि, चैत १७ गते ।
त्रियुगा नगरपालिका १ जोगिदहकी २२ वर्षिया संगिता सदाले आज उदयपुर अस्पतालमा एकैसाथ तीन बच्चालाई जन्म दिएकी छिन् ।
उनले दुई छोरा र एक छोरीलाई सामान्य प्रसुती सेवाबाट नै जन्म दिएकी हुन् । अस्पतालका प्रमुख डाक्टर मेडिकल सुपरिटेनडेन्ट मेकश झाका अनुसार बच्चाहरुको तौल भने तुलनात्मक हिसावले कमी रहेको छ । बच्चाहरु मध्ये एकजना १ किलो चारसय ग्राम र दुईजना १ किलो एकसय ग्राम तौल रहेको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । तोकिएको मिति भन्दा केही अगाडी नै बच्चाहरुको जन्म भएको हो । यस्तो अवस्थामा बच्चाहरुको स्वस्थ्यमा समस्या आउनसक्ने कुरालाई मध्येनजर गर्दै बाहिर रेफर गरिने अस्पतालले जनाएको छ । आमाले नियमित गर्भजाँच नगराएको र बच्चाहरुको तौल कमी रहेको पाइएपछि तीनैजना बच्चाहरुलाई एनआइसियु (साना बच्चाको सघन उपचार कक्ष)मै उपचार गर्नुपर्ने अवस्था रहेको अस्तालले जनाएको छ । उदयपुर अस्पतालमा यो सेवा नरहेकोले बाहिर रेफर गर्ने जनाइएको छ ।
संगितालाई घरमा लामो समय सुत्केरी बेथा लागेर पनि बच्चा जन्माउन नसकेपछि परिवारले आजै दिउसो अस्पताल ल्याएको थियो ।
श्रीमान् वैदेशिक रोजगारका लागि भारत गएको बेला संगिता सुत्करी भएकी हुन् । मधेसी समुदायको दलित तथा गरिब परिवारकी संगिताको बाहिर अस्पताल लगेर बच्चा र आप्mनो उपचार गर्ने हैसियत नरहेको बताइएको छ । उदयपुरबाट बाहिर अस्पताल लैजानु पर्ने भएपछि सुत्केरी संगिताको परिवारलाई बच्चाको स्वस्थ् यबारेको चिन्ताले सताएको छ ।
सुत्केरी संगिताका काका ससुरा सत्यनारायण सदाका अनुसार निम्न अवस्थाका कारण परिवारले उपचारमा लैजान सक्ने अवस्था छैन । विहान बेलुका के खाने भन्ने समस्या भएको परिवारले बाहिर उपचार गर्ने अवस्था नरहेको उनले बताए ।