Wednesday, March 4News That Matters

उदयपुर अस्पताललाई १ सय बेडमा स्तरवृद्धि गर्ने स्वास्थ्य मन्त्री राईको प्रतिबद्धता

गाईघाट÷पूर्णपुष्टि, मंसिर १६ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल उदयपुरलाई १०० बेडमा स्तरोन्नति गर्ने पहल गर्ने घोषणा गर्नुभएको छ ।
जिल्ला अस्पताल उदयपुरको नवनिर्मित प्रसूति भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री राईले अस्पताललाई १०० बेडमा स्तरोन्नति गर्न फाइल क्याबिनेटमा लाने र पास गर्ने जिम्मा स्वास्थ्य मन्त्रीको हैसियतमा आफूले नै लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोशी प्रदेश सरकारले पहिले नै स्वास्थ्य मन्त्रालय मार्फत वोनिङ स्वीकृति क्याबिनेटमा लगिएको उहाँले जानकारी दिनुभयो । जेन्जिङ मोमेन्ट नभएको भए अस्पताल स्तरोन्नतिको फाइल पहिले नै स्वीकृत भइसक्ने बताउँदै उहाँले जेन्जी मोमेन्ट र त्यसपछिको विपत्तिले कोशी प्रदेशमा ठूलो आर्थिक क्षति भएको बताउनुभयो ।

मन्त्री राईले जिल्ला अस्पताल उदयपुरलाई १०० बेडमा स्तरोन्नति गर्ने हो भने कल्पना मात्र गरेर बस्नुको अर्थ नरहेको र यथार्थमा परिणत गर्नुपर्ने बताउनुभयो । उहाँले भोजपुर र संखुवासभालाई पनि १०० बेडमा स्तरोन्नति गर्नुपर्ने माग आएको जानकारी दिनुभयो ।

अस्पताल स्तरोन्नति भएमा दक्ष चिकित्सकको संख्यामा वृद्धि हुने र नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति पाउने विश्वास मन्त्री राईले व्यक्त गर्नुभयो । उहाँले जिल्ला अस्पताल उदयपुरमा आउने दक्ष जनशक्तिको संख्या र उपचारका लागि आउने बिरामीको संख्या कटारी अस्पतालभन्दा फरक हुने बताउनुभयो ।

जिल्ला अस्पताल उदयपुरको महत्त्व छुट्टै रहेको बताउँदै मन्त्री राईले आफू गाईघाटमा बास बस्दा यहाँका बिरामी एम्बुलेन्सको साइरन बजाउँदै धरान बिराटनगर लगिने र कतिपयले बाटोमै ज्यान गुमाउने घटना भएको उल्लेख गर्नुभयो । उहाँले जिल्ला अस्पताल उदयपुर बनाउन सबै जुट्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

जेन्जी र विपत्तिको पुनर्निर्माणमा जुटिरहेको प्रदेश सरकारले निरन्तरता दिँदै अस्पताल स्तरोन्नतिको फाइल क्याबिनेटबाट अगाडि बढाउने सरसल्लाह गरिरहेको मन्त्री राईले जानकारी दिनुभयो ।