
पूर्णपुष्टि, फागनु ३० ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन आज (सोमबार) उद्घाटन भएको छ । भौतिक संरचनाको हिसावले सुविधा सम्पन्न नवनिर्मित भवनहरुको उद्घाटन एक समारोहकाबीच प्रहरी महानिरिक्षक सैलेश थापा क्षेत्रीले गर्नुभएको हो ।
प्रहरी कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्साघर र नागरिक सहायता कक्षसहित सातवटा भौतिक संरचना एकैसाथ निर्माण भएका छन् ।
११ करोड ४२ लाख बजेटमा भुकम्प प्रतिरोधात्मक भवन संरचनाहरु निर्माण भएका हुन् । निर्माण कम्पनी आशिस आशिर्वाद जेभिले समयमै निर्माण कार्य सम्पन्न गरेको हो । नवनिर्मित भौतिक संरचनाका कारण प्रहरीलाई जिल्ला कार्यालयको कार्य सम्पादनमा सहजता आएको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताउनुभयो ।

भवन संरचनाहरु प्रहरी कार्यालयको आप्mनै परिषरभित्र निर्माण भएका छन् । प्रहरी कार्यालयसंगै आधुनिक किसिमको हिरासत बनेको छ । मुख्य भवन आसपासमा अन्य भौतिक संरचनाहरु निर्माण भएका छन् ।
महानिरिक्षक थापाले प्रहरी हरेक नागरिकले आपद विपद र समस्यामा सम्झने नाम रहेको बताउनुभयो । प्रहरी सदैव नागरिकप्रति जिम्मेवार भएर सेवामा लाग्ने विश्वास दिलाउदै उनले पेशालाई गौरवको रुपमा लिएर लाग्न प्रहरीलाई निर्देशन दिनुभयो । हरेक नागरिकको भरोसा प्रहरीमाथि रहेकोले त्यसप्रति सदैव सचेत रहने बताउनुभयो । नागरिकको तर्फबाट पनि प्रहरीप्रतिको सकारात्मक ब्यवहारको खाँचो रहेको थापाको भनाई छ ।र्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले प्रहरी भौतिक संरचनाको हिसावले सुविधा सम्पन्न हुँदा नागरिकले थप प्रभावकारी सेवा पाउने आशा ब्यक्त गर्नुभयो। हरेक नागरिकले शान्ति र अमनचयनका साथ बाँच्न पाउने नैसर्गिक अधिकार रहेको भन्दै त्यसमा प्रहरीको मुख्य भुमिका रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जिल्लाको शान्ति, सुरक्षा ब्यवस्थाका लागि प्रहरी जनशक्तिको अभाव रहेको बताउनुभयो । साथै जिल्लामा विभिन्न ठाउँका प्रहरी युनिटको भौतिक संरचनाको अभाव रहेकोप्रति ध्यानाकर्षण गराउनुभयो ।

२०२५ सालमा पुलिस इनिस्पेक्टरको कमाण्डमा स्थापना भएको सो प्रहरी कार्यालयले लामो समयपछि सुविधासम्पन्न भौतिक संरचनाहरु पाएको हो ।
(फोटो फिचरसहित)

