
पूर्णपुष्टि, भदौ ३ । मोरङको कानेपोखरी गाउँपालिका–७ र उदयपुरको बेलका नगरपालिका–३ बाट सालकको खपेटासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार गत शनिबार दिउँसो मोरङको बेलबारीबाट पथरीतर्फ आउँदै गरेको प्र.१–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक रंगेली नगरपालिका–१ का ४५ वर्षीय गगन कुमार गच्छेदार र पछाडि सवार सप्तरी कञ्चनपुरका ३५ वर्षीय बासुदेव सरदारलाई पक्राउ गरिएको हो। उनीहरूले बोकेको झोलाभित्रबाट ८५० ग्राम सालकको खपेटा बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो।
पक्राउ परेका व्यक्तिहरूको थप अनुसन्धानका क्रममा उदयपुरको बेलका–३ रामपुर ठोक्सिलास्थित गिदेरी खोला बगरमा अन्य तीन जनालाई पनि सालकको खपेटासहित पक्राउ गरिएको छ। प्रहरीका अनुसार सोही स्थान बस्ने ४८ वर्षीय कृष्णराज मगर, बेलका नगरपालिका–६ का ५६ वर्षीय डिक बहादुर पूर्वछाने मगर र सप्तरीका ५५ वर्षीय उमेश प्रसाद चौधरीलाई ३ केजी ७१२ ग्राम सालकको खपेटा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरीले उनीहरू सवार बा.८२ प ८८०५ र को.११ प ७६२१ नम्बरको २ वटा मोटरसाइकल समेत बरामद गरेको जनाएको छ। पक्राउ परेका सबै व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।
