
पूर्णपुष्टि, साउन ३० । सुनसरी र उदयपुरबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हिजो सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लिम्चुङबुङ गाउँपालिकाकी २० वर्षीया राजमिका राईको साथबाट १ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ । साथै ईटहरी उप-महानगरपालिका-१७ का २० वर्षीय अब्बास मिया र २८ वर्षीय मो. सफरुद्दीनलाई समेत नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरी चौकी भगलपुर उदयपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०१-००३ प ७०७० नम्बरको मोटरसाइकलबाट लुकाई छिपाई ल्याउँदै गरेको ८ किलोग्राम गाँजा बरामद गरेको छ । यस क्रममा मोटरसाइकल चालक बेलका नगरपालिका-९ का २४ वर्षीय प्रबिन राई र मोटरसाइकलमा पछाडी सवार बेलका-७ का २१ वर्षीय रोशन राईलाई बेलका-१ बाट पक्राउ गरिएको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ
