
पूर्णपुष्टि, सानउ १८
उदयपुर सिमेन्ट उद्योगका लागि रिक्त दरबन्दी पूर्तिको प्रतिशत निर्धारण गर्न लोकसेवा आयोगमा पेस गर्नु पर्ने कानुनी प्रावधान पुरा भए पछि कर्मचारीहरुको बढुवा तथा नयाँ नियुक्तिका लागि बाटो खुलेको छ । उद्योगमा कार्यरत कर्मचारीहरुको उमेरको हद, मृत्यु तथा राजीनामा आदिका कारणबाट सेवा निवृत्त हुँदै गएको अवस्थामा मौजुदा दरबन्दी तथा संगठन तालिका अनुसार कार्यभार तथा उत्तरदायित्व निर्वाह गर्न असहज बन्दै गएको थियो ।
सोहि समस्यालाई समाधानका लागि कार्य दक्षता र कार्य क्षमताको आधारमा दरबन्दी मिलान गरि कर्मचारीहरुको बढुवा तथा नयाँ नियुक्तिका लागि कर्मचारीहरुको कार्य विवरण सहितको संगठन तालिका स्वीकृत भए सँगै कर्मचारीहरुको बढुवा तथा नयाँ नियुक्तिका लागि बाटो खुलेको हो ।
संचालक समितिका विज्ञ सदस्य श्री देबी प्रसाद बरालको संयोजकत्वमा गठित समितिले उद्योग व्यवस्थापन, ट्रेड युनियन हरु तथा सरोकारवालाहरुको सुझाव लिई उद्योगलाई चाहिने वास्तविक जनशक्तिको संख्या सहित सिफारिस गरेकोमा संचालक समितिको मिति २०७८/०४/०३ को निर्णयानुसार सुझाव सहित पेस भएको संगठन तालिका र दरबन्दी स्वीकृत भएको छ । नयाँ संगठानात्मक ढाँचा बमोजिम उद्योगलाई संचालन गर्नका लागि प्राविधिक र अप्राविधिक गरि कुल ५३३ जना जनशक्ति आवश्यक पर्ने देखिएको छ ।
अब उद्योगलाई आवश्यक पर्ने सबै किसिमका जनशक्ति करार सेवामा वा सेवा करारमा लिनुपर्दा पनि उक्त स्वीकृत दरबन्दी भित्रैबाट लिनुपर्ने व्यवस्था गरिएको छ । यस अघि ६१३ जनाको स्वीकृत दरबन्दी भएपनि वाह्य श्रोतबाट १०३ र सुरक्षाकर्मी ७२ जना समेत कुल ७८८ जना सम्म कामदार÷ कर्मचारी कार्यरत थिए । यसरी विश्लेषण गर्दा २५५ जना जनशक्ति कटौती भएको छ ।
प्रवन्धक तह ८ वा सो भन्दा माथिल्लो पदमा कार्यरत कर्मचारी अवकास हुँदा स्वतः दरबन्दी भन्दा बाहेकका पदहरु खारेज हुनेछन भने सुरक्षा गार्ड, पियन,पाले,स्वीपर, भान्छे जस्ता पदहरुमा वाह्य श्रोत वा करारमा मात्र लिन सकिने महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जनाए ।
