Friday, May 1News That Matters

उदयपुरका दुई युवा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन जाँदा धनकुटाबाट पक्राउ

पूर्णपुष्टि, पुष २२
उदयपुरका दुई युवा प्रहरी जवानको नक्कली परीक्षार्थी बनेर परिक्षा दिन जाँदा धनकुटाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका लागि जवान पदको लिखित परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी बनेर हलभित्र छिरेको अवस्थामा उनीहरु दुर्ब पक्राउ परेका हुन् ।
जिल्लाको धनकुटा बहुमुखी क्याम्पसमा लिखित परीक्षा चलीरहेको बेला तीन जना नक्कली परीक्षार्थी समातिएका थिए । तीमध्ये दुई जना भने उदयपुरका रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटाका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार शहिदभूमी गाउँपालिका–५ घर भएका २८ वर्षीय सौहार्द राई र उदयपुरको बेलका नगरपालिका– ७ का २२ वर्षीय योगेन्द्र राई र ३२ वर्षका निशान राईलाई नियन्त्रणमा लिइएको हो ।
जवान पदका लागि लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्दा शंका लागेपछि भित्री रुपमा अनुसन्धान र निगरानी बढाइएको थियो । वास्तविक परीक्षार्थी योगेन्द्र राईको १२४२० दर्ता नम्बर भएको प्रवेश पत्र लिएर उदयपुरका सौहार्द राई परीक्षाहलभित्र छिरेको थाहा पाएपछि पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

उदयपुरकै निशान भने हलमा शौहार्दसँग मिलेर नक्कली परीक्षार्थीलाई प्रवेश गराउन सहयोग गर्दै गर्दा समातिएका थिए । त्यस्तै आफ्नो परीक्षा अकैलाई दिन लगाउने योगेन्द्रलाईसमेत प्रहरीले परीक्षा हलबाटै पक्राउ गरेको हो ।
योगन्द्रले ती दुवैलाई आर्थिक प्रलोभनमा पारेर यस्तो कार्यमा प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी पक्राउ परेका तीनैजनामाथि अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताउनुभयो ।