
पूर्णपुष्टि, चैत १३ ।
मोरङको बेलवारी नगरपालिका–४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीका गर–गहना लुटपाट भएको घटनामा संग्लग्न उदयपुरका एक युवकसहित चार जना पक्राउ परेका छन् । रौतामाई गाउँपालिका–६ का २४ वर्षीय बिशाल बि.क., दमक नगरपालिका–३ का २५ वर्षीय सबिन बिश्वकर्मा, ईटहरी–५ का २४ वर्षीय बादल बि.क. र बर्दिबास नगरपालिका–१ का ३४ वर्षीय मनोज ठाकुर पक्राउ परेका हुन् ।
पक्राउ परेको यो समुहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर–गहना लुटपाट गरेको थियो । यसरी दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये चार जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो । घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
