Wednesday, April 22News That Matters

उदयपुरको गाइघाटमा बाढी कटान रोक्न यस्ताे उपाय

उदयपुर,  असार २७
उदयपुरको सदरमुकाम गाइघाटमा रहेको ढिम्की बरुवाबाँध क्षेत्रमा भइरहेको कटान रोक्न विभिन्न निकायहरू संयुक्त रूपमा परिचालित भएका छन् । असार २५ गतेदेखि परेको भारी वर्षाका कारण बरुवा खोलामा आएको बाढीले ढिम्की क्षेत्रमा उच्च जोखिम सिर्जना गरेको थियो ।
स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरपालिका र स्थानीयबासीहरू मिलेर कटान रोक्ने प्रयास गरिरहेका छन् । कटान क्षेत्रमा तारजाली र बाँस प्रयोग गरी तत्काल रोकथामको काम भइरहेको छ ।
त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतका अनुसार, तत्कालीन उपायस्वरूप खोलाको धार परिवर्तन तथा कटानमा तारजाली भर्ने र बाँस राख्ने काम गरिएको छ । डोजर प्रयोग गरी खोला खनेर र त्यहाँको बालुवा थुपारेर खाेलाकाे बहाव धार परिवर्तन गरिएकाे छ । मेयर बस्नेतले यस क्षेत्रमा दीर्घकालीन र भरपर्दो बाँध निर्माणका लागि पहल हुने जानकारी दिए ।
यस घटनाको गम्भीरता बुझ्न प्रदेश सरकारका मन्त्री तथा उपसभामुखले समेत स्थलगत अनुगमन गरेका छन् । यो संकटकालीन अवस्थामा सबै सरोकारवालाहरूको संयुक्त प्रयासले तत्काल राहत मिलेको छ। तर, दीर्घकालीन समाधानको आवश्यकता रहेको  छ।