
पूर्णपुष्टि, चैत १२
उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित सनुवा सुक्नाई सामुदायीक वनमा सोमबारदेखि लागेको आगोे अझै नियन्त्रमा आउन सकेको छैन । आगो अझै नियन्त्रमा नआएपछि सनुवागाउँ उच्च जोखिममा परेको हो ।
सोमबार साँझदेखि सनुवा सामुदायिक वन क्षेत्रमा शुरु भएको डढेलो बिहिबार दिउँसोसम्ममा नियन्त्रणमा आउन सकेको छैन । हावाहुरी चलेका कारण आगो नियन्त्रणमा लिन कठिन भइरहेको त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्य कमला खड्काले बताउनुभयो ।
डिभिजन वन कार्यलय उदयपुर गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहका अनुसार त्रियुगा नगरपालिका–२ स्थित चुरे क्षेत्रको सनुवा सामुदायिक वनमा अचानक डढेलो लागेपछि अहिले चुरे क्षेत्र आसपासका ५० घरसहित सनुवागाउँ उच्च जोखिममा परेको छ । सनुवा चुरे क्षेत्रको १५० हेक्टर क्षेत्रफल आसपासमा डढेलो फैलिएपछि सनुवागाउँ डढेलोको चपेटामा परेको डिभिजन वन कार्यालय उदयपुर गाईघाटले जनाएको छ ।
सनुवागाउँ क्षेत्रमा डढेलो आउन शुरु गरेपछि बुधबार साँझदेखि गाउँ बचाउनका लागि नेपाली सेना, जिल्ला प्रहरी, सशस्त्र प्रहरीसहित वनका कर्मचारी र उभभोक्तासहित ४ सय भन्दा बढी जनशक्तिले डढेलो नियन्त्रणमा लिने प्रयास शुरु गरिएको डिभिजन वनका सूचना अधिकृत साहले बताउनुभयो ।
बुधबार साँझदेखि रातभरि नै सुनुवा क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय उपभोक्तासमेत डढेलो नियन्त्रणमा लागिरहेको डिभिजन वन कार्यलय गाईघाटले जनाएको छ । रातभरि डढेलो नियन्त्रणका प्रयास गरेपनि तीव्र हावाहुरीका कारण समस्या भइरहेको डिभिजन वन कार्यलय गाईघाटले जनाएको छ ।
डढेलो लगाउने व्यक्तिको पहिचान हुन नसकेको वन उपभोक्ता समितिले जनाएको छ । वन क्षेत्रमा वस्तुभाउ चराउने तथा घाँस काट्ने व्यक्तिले आगो लगाएको हुन सक्ने समितिले जनाएको छ ।
