
पर्णपुष्टि सम्वाददाता
उदयपुर, भदौ १० ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरको आयोजनामा अटो तथा ई–रिक्सा चालकलाई सुरक्षा ज्याकेट वितरण गरिएको छ।
बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले अटो तथा ई–रिक्सा चालकलाई ज्याकेट वितरण गर्नुभएको हो ।
अटो तथा इ – रिक्सा व्यवस्थापनको उद्देश्यसहित सुरक्षित चालक अभियान अन्तर्गत एकसय जना चालकलाई ज्याकेट वितरण गरिएको हो ।
कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघका गजेन्द्र भगत, यातायात व्यवस्था सेवा कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरका अनुसार ज्याकेट प्राप्त गर्न २५२ जना अटो तथा ई–रिक्सा चालकले नाम दर्ता गराएका थिए। तीमध्ये पहिलो चरणमा एकसय जना चालकलाई ज्याकेट वितरण गरिएको हो। बाँकी चालकलाई पनि पछि ज्याकेट वितरण गरिने जनाइएको छ ।
अटो तथा ई–रिक्सा व्यवस्थापन तथा चालक सुरक्षालाई ध्यानमा राखी चालकलाई अन्य सवारी चालक तथा यात्रुले टाढैबाट सहज रूपमा पहिचान गर्न सकून् भन्ने उद्देश्यले ज्याकेट वितरण गरिएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङ मगरले बताउनुभयो । उहाँका अनुसार ज्याकेटमा दर्ता नम्बर रहन्छ । उक्त ज्याकेट चालकले अनिवार्य प्रयोग गर्नुपर्ने र जिम्मेवार चालकको रूपमा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
ज्याकेट जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले उपलब्ध गराएको हो । सडक सुरक्षाका लागि चालकहरूले ट्राफिक नियमको पालना गर्दै सुरक्षित रूपमा सवारी सञ्चालन गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।
