पूर्णपुष्टि, असोज ३० गते ।
उदयपुरमा अरिंगालले टोकेर एक २४ वर्षीय युवकको अकालमै ज्यान गएको छ । जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका दिवस राईको हिजो अरिंगालले टोकेर ज्यान गएको हो ।
साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिंगालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिंगालले चिलेर राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताए । अरिंगालले चिलेर अन्य चार युवा घाइते भएको पनि उनले जानकारी दिए ।
बिहीबार गाउँ नजिकैको जङ्गलमा कालो अरिंगालको सिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिंगाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिंगालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताए ।
अरिंगालको टोकाइबाट बेहोस भएका दिवशको शनिबार बिहान मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको धनबहादुरले जानकारी गराए ।
