Wednesday, June 3News That Matters

उदयपुरमा आगलागी हुँदा ७ घर जलेर नष्ट, एकको मृत्यु, ५५ पशुचौपाय जल्यो

पूर्णपुष्टि, चैत्र १३
उदयपुरमा भएको आगलागीमा ठुलो क्षती हुन पुगेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं १ शिखरपुरमा आईतबार करिब ४ बजको समयमा लागेको आगोले ७ घर जलेर नष्ट हुनुका साथै १ जनाको ज्यान समेत गएको छ । आगलागीमा परी ५५ ओटा पशुचौपाय समेत जलेर नष्ट भएको छ ।

शिखरपुरका गौर बहादुर मगरको घरमा बिद्युत सर्ट भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ । मगरको ढुंगा र माटोले बनेको फुसको छानो भएको घरमा सर्ट भई आगलागी हुँदा निजकै श्रीमती ६६ बर्षिया शिवमाया मगरको ज्यान गएको हो । शिवमाया अपङ्गता थिईन् । मगरको सहित सोहि ठाउँको भैरब मगर, यम्वर मगर, मनमाया मगर, कोपदम बहादुर मगर, दिप बहादुर मगर र धनमाया मगरको घर जलेर नष्ट भएको हो । ७० बर्षिय गौर बहादुर मगरको जनमा समेत क्षती पुग्नुका साथै घरमा रहेको लत्ता कपडा, खाद्यन्न, भाडा बर्तन र ८ ओटा बाख्राको पाठा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनको ९ लाख बराबरको क्षती पुगेको प्रहरी विवरणमा उल्लेख छ ।

यसैगरी भैरव बहादुर मगरको भने २० लाख बराबरको धनमाल नष्ट भएको छ । उनको एउटा खसी, सुन चाँदी, भाँडा वर्तन, लत्ता कपडा र खाद्यन्न गरी २० लाख बराबर क्षती पुगेको जनाईएको छ । यस्तै यम्वर बहादुरको टिनले छाएको २ तले पक्की घर, किराना पसल र नगद सुनचाँदी गरी अन्दाजी ४० लाख बराबरको क्षती पुगेको जनाईएको छ । यता मनमायाको पनि घर सँगै लत्ता कपडा, भाँडा वर्तन अन्नपात र ६ ओटा बाख्रा खसी गरी २ लाख बराबरको क्षती पुगेको छ ।

पदम वहादुर मगरको पनि घर सहित अन्नपात, भाँडा वर्तन, लत्ताकपडा, दुईतोला सुन, ३ ओटा बाख्रा पाठा र १ ओटा सुँगुर गरी २० लाख बराबरको क्षती पुगेको प्रहरीले जनाए ।
यता दिप वहादुर मगरको १ तले घर २ तोला सुन १० तोला चाँदी, ७ ओटा बाख्रा पाठा र ५० हजार नगद गरी १० लाख बराबरको क्षती पुगेको छ ।

यसैगरी धनमाया मगरको लत्ताकपडा, भाँडा बर्तन, अन्नपात, ६ ओटा खसी, २ ओटा सुँगुर र २ तोला सुन र ६ तोला चाँदी गरी १० लाख बराबरको क्षती पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले जनाए । आगो करिब साढे ८ बजेको समयमा प्रहरी र स्थानीयले नियन्त्रणमा लिन सफल भएका थिए ।