
पूर्णपुष्टि, चैत २७ ।
हालसम्म उदयपुरका विभिन्न ठाउँका क्वारेन्टाइनमा बस्नेको संख्या ६९ रहेको छ । जिल्ला जनस्वस्थ्य कार्यालयले दिएको तथ्यांक अनुसार जसमा पुरुषहरु ६० र महिला ९ जना रहेका छन् ।
सबैभन्दा बढि कटारीको बेलसोत क्वारेन्टाइनमा छन् । २३ पुरुष र ३ महिला गरी २६ जना बसेका छन् । उनीहरुले १४ दिन पुरा गरिसकेको र सबैजनाको अन्तिम स्वाप परिक्षणका लागि हिजो नै नमुना लिइ धरान स्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परिक्षण केन्द्रमा पठाइएको छ । भोलीसम्ममा रिपोर्ट आउने र नेगेटिभ आएकालाई घर पठाइने, पोजेटिभ देखिएकालाई उपचारमा पठाइने जनस्वस्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
त्यसपछिको ठूलो संख्या बेलका नगरपालिकाको रहेको छ । उक्त नगरपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएका छन् । त्रियुगा नगरपालिकामा ८ जना छन् । रौतामाई गाउँपालिकामा पनि ८ जना नै रहेका छन् । लिम्चुङबुङ गाउँपालिकामा ५ र चौदण्डी नगरपालिकामा ४ जना रहेका छन् ।
त्यसैगरी उदयपुरमा होम क्वारेन्टाइनमा बस्नेको संख्या हालसम्म २ सय ८४ जना रहेको छ । जसमा ४ जना महिला छन् ।
होम क्वारेन्टाइनमा बस्नेको सबैभन्दा ठूलो संख्या बेलका नगरपालिकामा रहेको छ । उक्त पालिकामा १ सय ७३ जना होम क्वारेन्टाइनमा बसेका छन् । उनीहरु सबै पुरुष हुन् । त्रियुगा नगरपालिकामा ७९ जना छन् । उनीहरु पनि सबै पुरुष हुन् । कटारी नगरपालिकामा ४ महिलासहित २२ जना छन् । होम क्वारेन्टाइनमा महिला भएको पालिका कटारी मात्र हो । त्यस्तै ताप्ली गाउँपालिकामा ७ र लिम्चुङबुङ गाउँपालिकामा ३ जना होम क्वारेन्टाइनमा रहेका छन् ।
पछिल्लो समय क्वारेन्टाइनको निर्माण र व्यवस्थापन पालिकाहरुमै भएकाले क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो । स्थानीय सरकारले गाउँगाउँमै विदेशबाट आएकाहरुलाई खोज्दै जाने क्रममा घरमा भेटेकाहरुलाई निगरानीका साथ होम क्वारेन्टाइनमा राखिएको हो । उनीहरुको स्वस्थ्य परिक्षण र नियमित निगरानीको काम भईरहेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताउनुभएको छ ।
होम क्वारेन्टाइनमा बसेकाहरुलाई कुनै स्वस्थ्य समस्या देखिनेसाथ जिल्ला तथा प्रदेश स्तरको सम्बन्धीत निकायमा समन्वय तथा सम्पर्क गरेर उपचारमा पठाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । हालसम्म होम क्वारेन्टाइनमा बस्नेहरुमा स्वस्थ्य समस्या नदेखिएको पनि उहाँले जानकारी दिनुभयो ।
