Monday, June 29News That Matters

उदयपुरमा बारम्बार विद्युत् अवरोध हुनुको कारण माग गरियो, नियमित आपूर्ति हुनुपर्नेमा जोड

पूर्णपुष्टि/उदयपुर, असार १५ ।
त्रियुगा नगरपालिका तथा आसपासका क्षेत्रका स्थानीयले बारम्बार हुने विद्युत् अवरोधका कारण जनजीवन प्रभावित भएको भन्दै नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्न नेपाल विद्युत् प्राधिकरण, शाखा कार्यालय गाईघाटसँग माग गरेका गरिएको छ ।
शाखा कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय दैनिक ६ देखि १० पटकसम्म विद्युत् अवरुद्ध हुने गरेको गुनासो स्थानीयको छ । बारम्बारको विद्युत् कटौतीका कारण आम नागरिक, विद्यार्थी, अस्पताल तथा स्वास्थ्य संस्था, उद्योग–व्यवसाय, बैंक तथा वित्तीय संस्था, सरकारी तथा निजी कार्यालय, सूचना प्रविधिमा आधारित सेवा, साना तथा घरेलु उद्योग तथा किसानहरू प्रत्यक्ष रूपमा प्रभावित भएको जनाइएको छ ।
बिना पूर्वसूचना पटक–पटक विद्युत् अवरोध हुँदा विद्युतीय उपकरणमा क्षति पुग्ने, व्यवसाय सञ्चालनमा समस्या हुने, अध्ययन–अध्यापन प्रभावित हुने तथा सर्वसाधारणले अनावश्यक सास्ती खेप्नुपरेकोले ज्ञापन पत्र मार्फत आवाज उठाउनु परेको जेन्जी उदयपुरका संयोजक सुरेन्द्र थापाले बताए ।
मर्मत वा प्राविधिक कारणले विद्युत् अवरोध गर्नुपर्ने अवस्था आएमा समयमै सार्वजनिक सूचना दिनुपर्ने माग पनि गरिएको छ ।
स्थानीयले विद्युत् आपूर्ति प्रणालीको आवश्यक मर्मत, स्तरोन्नति तथा व्यवस्थापन गरी नियमित र भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न, दीर्घकालीन समाधानका लागि आवश्यक योजना बनाई तत्काल कार्यान्वयन गर्न तथा बारम्बारको अवरोधको वास्तविक कारण सार्वजनिक गर्न माग गरेका छन् ।
ज्ञापनपत्रमा स्थानीय समाजसेवी तथा विभिन्न व्यक्तिहरूको हस्ताक्षरसहित नेपाल विद्युत् प्राधिकरणलाई उपभोक्ताको समस्याप्रति गम्भीर भई आवश्यक पहल गर्न आग्रह गरिएको छ।