
पूर्णपुष्टि, साउन ३१ । उदयपुरमा भैँसी चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुबनी ग्राम पंचायत लालमनिया थाना लौकाह वडा नं २ बस्ने ३० बर्षीय दिप कुमार भिमदवार यादव रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार साँझ ५ बजे त्रियुगा नगरपालिका– ५ देउरी बस्ने धुर्ब बहादुर खड्काको गोठबाट भैँसी हराएको थियो । खड्काले भैँसी हराएको भन्ने मौखिक जानकारी ईलाका प्रहरी कार्यालय जलजलेमा गराउन साथ तत्काल खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा देउरीमा स्थानियलाई मेरो भैँसी रु ७५ हजारमा किन भनि हिडिरहेको अवस्थामा यादवलाई फेला पारी भैँसी सहित नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदालतबाट दिन ५ म्याद लिई थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
